काठमाडौं, कात्तिक १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताउनुभएको छ ।
आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उहाँले बताउनुभएको हो । आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनीयर) समेत पठाइसकेको जानकारी उहाँले दिनुभएको छ । केही खाली रहेका नगर/गाउँपालिकाहरूमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिने उहाँको भनाइ छ ।
करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ । ‘नौ-नौ/दश/दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौँ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौँ । भर्खरै आउनुभएका ३८औँ ब्याचका अफिसर/अधिकृतहरूलाई पनि पालिकामै पठाएका छौँ ।’ पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपूर पहलकदमी लिइरहेको उहाँको भनाइ छ ।
एकैचोटी ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट उच्च दबाब आफूले झेलेको सम्झना गर्नुहुँदै उहाँले भन्नुभयो, ‘म बोल्ने भन्दा पनि काम गरेर देखाउने इच्छा बोकेर मन्त्रालय आएको हुँ । कामको सन्दर्भमा आउने यस्ता दबाबको अगाडि झुक्ने बानी मेरो छैन र झुक्दिनँ पनि ।’ यस्तै, उहाँले कर्मचारी सरुवासम्बन्धी नियमावली मन्त्रालयबाट पारित गरी आवश्यक राय-सुझावका लागि कानुन मन्त्रालय पठाइएको जानकारी पनि दिनुभयो ।
मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा सङ्घीय निजामती विधेयकमाथिको छलफलले तीव्रता पाएको र आगामी संसद अधिवेशनबाट सो विधेयक पारित गराउने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । एक सय दिनको अवधि मन्त्रालयका गतिविधि बुझ्न, आवश्यक ब्रिफिङहरू लिन र विभिन्न प्रकृतिका कामकारबाहीबारे जानकारी लिन खर्च भएको बताउनुहुँदै उहाँले यो बीचमा धेरै कामको थालनी भइसकेको र अब क्रमशः परिणाम आउने दाबी गर्नुभयो । १०० दिने कार्यकाल पूरा भएसँगै अब सिङ्गो सरकारकै गति बढ्ने उहाँको भनाइ छ ।