काठमाडौं, कात्तिक १२ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल हुनु भएको भन्दै सम्मान गरिएको छ ।
मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरिएको हो । सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले काठमाडौँ उपत्यकावासीका लागि बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आफु पूर्ण प्रतिबद्ध रहेका बताउनु भएको थियो । मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसलाई पानी नभइ नहुने चिज हो, पानी बिना बाच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कमद चाल्छौँ ।”
काठमाडौँ उपत्यकामा हेलम्बुवासी, नागरिक समाज एवं जनप्रतिनिधीहरुको साथ र सहयोगका कारण यसवर्ष समयमै मेलम्चीको पानी ल्याउन सफल भएको बताउनु हुँदै उहाँले सम्पूर्ण मेलम्चीवासीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । उपत्यकावासीहरुको साथ र सहयोगमा पानीको समस्या समाधान गर्न सकिने समेत मन्त्री यादवले बताउनुभयो । इतिहासमै पहिलो पटक वर्षायामपछि समयमै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफ्नो प्रयास सफल भएको बताउनु हुँदै मन्त्री यादवले काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले आज गरेको सम्मानले आफुलाई गर्व र थप काम गर्न प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई गरिएको यो सम्मानले नागरिकका अपेक्षाहरू पूरा गर्न थप ऊर्जा दिएको छ । निरन्तर गुणस्तरीय सेवा गर्दै मेलम्ची परियोजनालाई प्रभावकारी बनाउने मेरो यात्रा जारी रहनेछ । सहयोग र सुझावका लागि सबैलाई धन्यवाद छ ।”
दक्षिणकालीका नागरिक, मेलम्चीवासीहरुसँग हात जोडेर आफूले काठमाडौँ उपत्यकामा पानी ल्याउन सफल भएको बताउनु हुँदै मन्त्री यादवले सरकारले नागरिकका गुनासा र मागलाई सम्बोधन गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जलस्रोतको धनी देश नेपालमा पानीका लागि सङ्घर्ष समिति बनाउनु पर्ने अवस्था आउनु दुःखद पूर्ण कुरा हो । नागरिकलाई के आवश्यक छ, उनीहरूका माग के हुन सरकारले पुरा गर्नु उसको दायित्व हो ।”
यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरू सम्बोधन गर्नका लागि सँधै अग्रसर रहेको बताउनुभयो । कोटेश्वर क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माणका लागि त्यहाँका स्थानीयवासी एवं सङ्घर्ष समितिले राखेका मागका विषयमा मन्त्री यादवले ओभरहेड ट्याङ्की निर्माणका लागि आफूले बजेट बिनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो । पेप्सीकोला, जडिबुटी क्षेत्रमा खानेपानीको पाइप यसैवर्ष बिस्तार गरिने समेत मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पेप्सीकोला, जडिबुटी क्षेत्रमा खानेपानीको पाइप यसैवर्ष बिस्तार गर्छु, मेरो प्रतिबद्धता भयो ।” एक छुट्टै प्रशङ्गमा बोल्नु हुँदै मन्त्री यादवले ठेकेदारको लापरवाहीका कारण समयमै नागरिकले खानेपानीका मिटर पाउन नसकेकाले खानेपानीको मिटर समयमै नदिने ठेकेदारको म्यादन नथपेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समयमै मिटर नदिने तर पटक पटक म्याद थप गरेर जनतालाई दुःख दिने लापरवाही गर्ने ठेकेदारको मैले म्याद थपेन, अब नयाँ टेण्डर निकालेर मिटर नपाउने समस्याको अन्त गर्दैछौँ ।” यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि सिस्नेरीबाट पनि पानी ल्याउने पहल भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानीको आवश्यक छ, अहिले जम्मा १७ करोड लिटर पानी बितरण गरिरहेका छौँ, हामीले थुप्रै योजना अघि सारेर यहाँको पानीको समस्या समाधान गर्ने छौँ ।”
सोही कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेश सभा सदस्य सुनिल केसीले यसवर्ष समयमै मेलम्ची लगायतका क्षेत्रबाट पानी ल्याएर नागरिकलाई सुबिधा दिनु भएको भन्दै मन्त्री यादवको खुलेरै प्रसंसा गर्नु भएको थियो । मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै आज आइतबार काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा आयोजना गरेको स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम २०८१ मा सम्मान पत्र सहित मन्त्री यादवलाई सम्मान गरिएको थियो ।