Kath khabar
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, आज धनतेरस

                  काठमाडौं, कात्तिक १३ ।  कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । यस दिन बेलुकी यमदीपदान सुरु गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

धनतेरसको दिन नयाँ सामान किन्ने चलन छ । यस दिन कुनै पनि नयाँ वस्तु किन्दा घरमा ऐश्वर्य र समृद्धि आउने धार्मिक विश्वासस छ । यस दिन कुनै पनि नयाँ वस्तु किन्नुअघि शुभ मुहूर्त राखी सोही अनुसार खरिद गरिन्छ । घरमा समृद्धि ल्याउन सुन, चाँदी, तामा वा फलामका नयाँ धातुका भाँडाहरू किन्ने परम्परागत दिन हो । धनतेरसलाई दिपावलीकाे लागि किनमेलको गर्ने सबैभन्दा शुभ दिन मानिन्छ ।

दीपावलीमा पूजाआजा गर्न धनतेरसको दिन लक्ष्मी र गणेशको मूर्ति किन्ने जनविश्वास छ । यस दिन लक्ष्मी र गणेशको सुन र चाँदीको मूर्ति पनि खरिद गर्न सकिन्छ । यस दिन खरिद गरिएको सुन र चाँदीको सिक्का खरिद गर्नु पनि शुभ मानिन्छ । सुन र चाँदीका सामानहरू बाहेक पित्तल, तामा र स्टिलका वस्तुहरू पनि किन्ने गरीन्छ । यस दिन मानिसहरूले झाडूदेखि लिएर कार, घरजस्ता सामान किन्छन् । आज साँझ घर–घरमा दीप प्रज्वलन गरी नयाँ धातुका वस्तु सजाएर ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको आशीर्वाद लिइन्छ  ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।   झिलीमिली उज्यालोको चाड तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरिथरिका बत्ती बाल्न सुरु भइसकेको छ ।
दीपावली मुख्यतया देवी लक्ष्मीको सम्मानमा केन्द्रित भएकाले चाडपर्वको शुरुवातदेखि नै देवीलाई प्रसन्न पार्ने उद्देश्यले पहिलो दिन नयाँ वस्तु खरिद गर्ने चलन रहेकाे हाे  ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update