कास्की, कात्तिक २० । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि आज अदालत उपस्थित गराईको छ । उनीसँगै छविलाल जोशी, लीला पछाइ र रामबहादुर खनाललाई पनि आज अदालत उपस्थित गराएको छ ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । रवि र छविविरुद्ध गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको भन्दै संगठित अपराधको मुद्दा लगाइएको छ ।
यसैगरी, रुपन्देहीमा पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिने तयारी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीको अदालती प्रक्रिया सकिएपछि बुटवल लगिनेछ ।