काठमाडौं, कात्तिक २० । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन् । यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो ।
निर्देशक लामाले यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताएका छन् । ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए । उनका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।
चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ भने मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । यस चलचित्रमा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही चलचित्रमार्फत चलचित्र अभिनयमा डेब्यू गर्दैछन् ।
चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने स्क्रिप्टलाई अझ प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन् । यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन् । सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।