Kath khabar
विराटनगरबाट पक्राउ परेका निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै


          काठमाडौं, कात्तिक २५ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौँ ल्याइँदै छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरि अहिले अपराह्न २ः३० बजेको समयमा अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको थियो, अहिले काठमाडौँ ल्याइँदै छ ।”

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएका प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि पक्राउ गरेको पुष्टि छ ।

यसैगरी अधिकारीलाई नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो । (रासस)
–––

 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update