काठमाडौं, कात्तिक २६ । वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदिपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् ।
उनीहरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो ।
साथै पक्राउ परेका दुवै जना बैंकिङ कसूर एवम् अपराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।