Kath khabar
कोप-२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास


            बाकु (अजरबैजन) कात्तिक २६ । आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उद्घाटन भएको छ । उद्घाटन सत्रमा जलवायुसम्बन्धी समस्या निराकरणका लागि विश्व समुदायले एकताबद्ध रुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनको आज उद्घाटन गर्दै, कोप २९ का अध्यक्ष मुख्तार बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेको बताउँदै जलवायुजन्य समस्या समाधान र जलवायु जोखिमका सम्भावित समस्याका विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसैगरी उद्घाटन सत्रमा बोल्दै निवर्तमान कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेलेदले सबैको सहकार्य र एकताले जलवायुजन्य समस्या निराकरणमा सहयोग पुग्नेमा जोड दिनुभयो । “म तपाईंलाई अन्तिम सन्देश दिन चाहन्छु कि सबैको सकारात्मकताले नै जलवायु न्यूनीकरणका नीति कार्यान्वयनलाई बलियो बनाउन सकोस्”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले विश्वभर बढिरहेको जलवायुजन्य सङ्कटले संसारको हरेक व्यक्ति कुनै न कुनै प्रकारले प्रभावित भइरहेको बताउनुभयो । जलवायुजन्य समस्या समाधान गर्न सबैै एकजुट हुनुपर्नेमा उहाँको जोड छ ।

आगामी नोभेम्बर २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोप सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुग्नुभएको छ । राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा प्रमेश्वर पोखरेलले जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्वन उत्सर्जनले निम्त्याएका समस्या समीक्षा गर्दै यसको न्यूनीकरणका लागि कोप सम्मेलनमा समाधान पहिल्याउने विश्वास व्यक्त गर्नुभयो । विकासशील देशहरुले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या समाधानका लागि अपनाउनुपर्ने उपायबारे सम्मेलनले निष्कर्ष निकाल्ने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि विश्वसमक्ष नेपालको धारणा प्रस्तुत गर्दै हुनुहन्छ । एक सय ९२ भन्दा बढी मुलुकको राष्ट्र प्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सम्मिलित सम्मेलनमा उहाँले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उहाँले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेललाई दर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फरिद अहमदोले स्वागत गर्ने क्रममा हालको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताउनुभएको छ । यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता गरेको रकÞम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । (RSS)

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update