Kath khabar
‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

                   काठमाडौं, कात्तिक २८ । बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन ।“भैरहवा र सुर्खेत विमानस्थल बन्द छन् अन्य विमानस्थलबाट नियमित उडान भइरहेका छन्”, उहाँले भन्नुभयो ।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । ती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार सुक्खा मौसम  र प्रदूषणले लामो समय वर्षा नहुँदा तथा तराई क्षेत्रमा बाक्लो तुवालो लागेकाले हवाई यातायात प्रभावित भइरहेको बताउनुभयो । “तराईको भू–भागमा वर्षा भए पनि नभए पनि अबको केही दिनपछि बिहाना हुस्सु, कुइरो लाग्नेक्रम बढ्ने र उडान प्रभावित हुनेछ ”, उहाँले भन्नुभयो,“नोभेम्बरको तेस्रो सातादेखि बाक्लो हुस्सु कुइरो बढ्नेछ । डिसेम्बर, जनवरी र फेब्रुअरीमा बढी हुस्सु र कुहिलो लाग्ने भएकाले महाशाखाले विशेष ‘मोनिटरिङ’ नै गर्छ ।”
 
तापक्रम घट्दै जाँदा भिजिबिलिटी कमजोर हुने भएकाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।
–––

 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update