Kath khabar
‘मह जात्रा’ प्रहसनको तयारी पुरा


                 काठमाडौं, कात्तिक २९ । मह जोडीले नेपालमा करिब दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने प्रहसनका लागि रिहर्सल लगायतका सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७, १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रहसनमा किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतजस्ता ख्यातिप्राप्त हास्य कलाकारहरूको पनि प्रस्तुति रहनेछ । यस प्रहसनको प्रमुख विशेषता हास्यव्यङ्ग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको र नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई व्यंग्य शैलीमा प्रस्तुत गर्ने यो कार्यक्रम मह जोडीको विशिष्ट र मौलिक शैलीमा हुने हास्य कलाकार किरण के.सी ले बताएका छन् ।

मह जोडीले यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसनहरू, जस्तै यमलोक, प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं. ३४, दुई सय पाँच, नाता, र सपथ ग्रहणजस्ता प्रस्तुति नेपाली हास्य क्षेत्रमा अत्यन्त स्मरणीय रहेका छन्। हाल मदनकृष्ण श्रेष्ठ पार्किन्सन्स रोगबाट पीडित भए तापनि अभिनय, लेखन र गायनलाई निरन्तरता दिइरहेका छन् । उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म कलाकारिता क्षेत्रमा लागिरहने बताउँदै, साथी हरिवंशलाई सधैँ साथ दिने प्रतिबद्धता पनि सार्वजनिक रूपमा प्रकट गर्दै आएका छन् ।  

दश वर्षको अन्तरालपछि फेरि मञ्चमा एकसाथ आउने मह जोडीले पुरानो शैलीको हास्यव्यङ्ग्यलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ । यो प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको सम्मिश्रण हुनेछ, जसले दर्शकलाई हँसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न प्रेरित गर्नेछ । हालैका वर्षहरूमा नेपाली समाजमा भएका विविध राजनीतिक, सामाजिक, र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण यस प्रहसनमा देख्न पाइनेछ, जसले दर्शकलाई हाँस्दै सोच्न बाध्य बनाउने कुराको जानकारी प्रहसनका लागि रिहर्सल गरिरहेका कलाकारहरुले दिनुभयो ।

‘मह जात्रा’ कार्यक्रम मह सञ्चार र सुश्री मिडिया प्रा.लि.को सहकार्यमा हुने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । ‘मह जात्रा’ नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update