Kath khabar
टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि


                  काठमाडौं, कात्तिक ३० । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ ।

थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिनुभयो ।

“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्‍यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटकपटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनाँै”, उहाँले भन्नुभयो, “यदि उक्त भाइरस सङ्क्रमण भएको भए खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गरौं ।”

गत असारमा काठमाडौँ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताउनुभयो ।

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाडौँका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो । काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक–एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ ।

सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् ।
---

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update