मस्को, ७ मङ्सिर - मस्को र किएभबीच दुर्लभ र ‘कठिन’ वार्तापछि रूसको सीमावर्ती क्षेत्र कुस्र्कका दर्जनौं बासिन्दालाई युक्रेनबाट रूस फर्काइएको मस्कोले शुक्रबार जनाएको छ ।
किएभले अगस्टमा कुस्र्क क्षेत्रमा ठूलो हवाई आक्रमण सुरु गरेर हजारौं सर्वसाधारणको बसोबास रहेको रूसी भूभाग कब्जा गरेको थियो ।
त्यहाँका बासिन्दालाई किन युक्रेन पुर्याइयो भन्ने स्पष्ट भएको छैन र किएभको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
“आज कुस्र्क क्षेत्रका ४६ जना बासिन्दा युक्रेनी पक्षसँग वार्ताको प्रक्रियाको परिणामस्वरुप युक्रेनबाट रुस फर्केका छन्,” रुसी मानवअधिकारकर्मी तातियाना मोस्ककोभाले भन्नुभयोे ।
स्थानीय गभर्नर एलेक्सी स्मिरनोभका अनुसार ती सबै बासिन्दा युक्रेनले आफ्नो भूमि फिर्ता गर्न रूसको कुस्र्क क्षेत्रमा आक्रमण सुरु गरेको केही समयपछि नै कब्जा गरेको सुदझाको जिल्लाका सीमावर्ती सहर सुडझान्स्कीका हुन् ।
टेलिग्राममा उहाँले भन्नुभएको छ, “हाम्रा देशवासीलाई स्वदेश फर्काउनका लागि भएको कठिन र लामो वार्ताले परिणाम ल्याएको छ ।”
सम्झौता अनुसार १२ जना बालबालिकालाई समेत बेलारुस हुँदै स्वदेश फर्काइएको र सबैलाई आवश्यक सहयोग गरिएको उहाँले बताउनुभयो ।
युक्रेन द्वन्द्वको तनावपूर्ण क्षणमा किएभले रूसतर्फ बेलायत र अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ भने मस्कोले आफ्नो छिमेकी मुलुकमाथि हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
नागरिकहरूको सीमित फिर्ती, साथै कब्जा गरिएका सैनिकहरूको आदान–प्रदान र मारिएका लडाकुहरूको शवहरू दुई पक्षहरू बीच सहयोगको एक मात्र क्षेत्र बनेको छ, जुन मस्कोले फेब्रुअरी २०२२ मा आक्रमण सुरु गरेदेखि ‘आफ्नो पूर्ण क्षमता’ प्रयोग गरी लडिरहेको छ।