Kath khabar
किम्बूका बिरुवाको माग घट्यो

चितवन, ८ मङ्सिर - किम्बू नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास फार्म भण्डाराले बिरुवा उत्पादन घटाएको छ । कार्यालयका अनुसार गत वर्ष छ लाख बिरुवा बिक्री वितरण गरेकामा यस वर्ष तीन लाख बिरुवा लगाउने तयारी गरिएको हो ।

फार्र्मका प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार गत वर्ष तयार गरिएका बिरुवा ५० हजार हाराहारी बिक्री नभइरहेका छन् । गत वर्ष उत्पादित बिरुवा बिक्री भइनसकेकाले अहिले उत्पादनको लक्ष्य कम गरिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “रेशम खेतीका लागि बढी मात्रामा बिरुवा जाने गथ्र्यो । अहिले रेशम खेती नभएपछि बिरुवा कम उत्पादन गर्न लागिएको हो ।” अघिल्लो वर्ष किसानले माग गरेर पनि लिन नआएपछि बिरुवा उत्पादन कम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अहिले पशुचोपायलाई खुवाउने घाँसको रुपमा मात्र किम्बूको बिरुवा लगाउने गरिएको क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार पहिलापहिला एक लाख बिरुवा लैजाने किसानले अहिले एक हजार मात्रै लाने गरेका छन् । माग बढ्न नसेपछि बिरुवा उत्पादनको लक्ष्य घटाइएको उहाँको भनाइ छ ।

रोजगारीको शिलशिलामा युवाशक्तिहरु बिदेश पलायन हुनु र रेशम खेती विस्थापित हुनुले किम्बूका बिरुवाको माग घटेको क्षेत्रीले जानकारी दिनुभयो । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा किम्बुको बिरुवा उत्पादन गरिएकामा अहिले क्षेत्रफल घटेर तीन हेक्टरमा मात्र बिरुवा लगाउन थालिएको उहाँले बताउनुभयो । 

सुरुवातमा चितवनको माडी, दोलखा, रामेछाप, धनकुटा, भोजपुर, सिन्धुलीलगायत जिल्लामा व्यावसायिक रूपमा रेशम खेती हुने गरेको थियो । अहिले रेशम खेतीमा आकर्षण घट्दै गएको पाइएको क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोकन दिने समयमा रेशम किरा मर्ने, बजार भाउ नपाउने हुँदा यसतर्फ आकर्षण घट्दै गएको हो ।” अहिले फार्मले च्याउको बिउ उत्पादन, धानको मुल बिउ उत्पादनलगायत काम पनि सुरु गरेको छ ।  

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update