काठमाडौं, मंसिर १० । मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् । उक्त दृश्य सिसी टिभी फुटेजमा कैद हुन्छ । अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ । अनुसन्धानमा खटिएका प्रहरीले सिसी टिभी फुटेजकै आधारमा शव फ्याँक्ने युवालाई पक्राउ गर्छन् ।
प्रायः फिल्मीमा देखिने र सुनिने यो घटना यसपटक काठमाडौँको कालीमाटीमै भएको छ । यही मङ्सिर ७ गतेको घटना विवरण आइतबारसार्वजनिक भएपछि सबै चकित छन् । सिसी टिभीमा देखिएको उक्त दृश्यपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण सङ्कलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले उक्त घटनामा संलग्न व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।
अनुसन्धानमा उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । उनले महिलाको शव बोकेर फाल्ने समयमा लगाएको चप्पल, ट्राउजर र ज्याकेटका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो । उनलाई त्यही अवस्थामा भेटिएको जिसीले जानकारी दिनुभयो ।
मल्लले सिसी टिभी फुटेजमा देखिएका व्यक्ति आफू भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हाल महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको ‘रिपोर्ट’ आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार महिलामाथि बलात्कार भएको आशङ्का गरिएको छ ।
---