काठमाडौं, साउन १२ । मुलुकको निर्यात व्यापारमा ४४.४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०७७/७८) को असार मसान्तसम्ममा निर्यात ४४.४३ प्रतिशतले वृद्धि हुदाँ एक खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको भन्सार विभागले जानकारी दिएको छ । आर्थिक वर्ष (२०७६/७७) को सोहि अवधिमा ९७ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको थियो ।
निर्यात व्यापार बढ्दा पनि उच्च आयातका कारण मुलुकको व्यापार घाटामा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा आयात व्यापारमा २८.६६ प्रतिशतले वृद्धि भएको छ । विभागले उपलब्ध गराएको तथ्यांक अनुरुप गत आर्थिक वर्षको १२ महिनाको अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड आयात व्यापार रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।
निर्यातजन्य प्रमुख वस्तुमा सोयाबिन ओयल, पोलिष्टर/कटन यार्न, अलैचीं, जुट, गैलैचाँ लगायतका सामाग्री रहेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्मको ५३ अर्ब ६५ करोड रुपैयाँको भटमासको तेल, करिब सात अर्ब रुपैयाँको पोलिष्टर यार्न, सात अर्ब एक करोड रुपैयाँको अलैची निर्यात गरिएको छ ।
यसैबीच उच्च आयात कै कारण नेपालले भारत लगायत तेस्रो मुलुकसँगको व्यापारमा प्रायजसो सदैव घाटा व्यहोर्नु परेको छ । आर्थिक वर्ष (२०७७/७८) को १२ महिनाको अवधिमा मुलुकको व्यापार घाटा २७.२६ प्रतिशतले बढेको विभागले जनाएको छ । आर्थिक वर्ष (२०७७/७८) मा १३ खर्ब ९८ अर्ब ७१ करोड मुलुकले व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने १० खर्ब ९९ अर्ब ८ करोड रहेको विभागको तथ्यांक छ । नेपालमा प्रमुख आयातीत फलामजन्य सामग्री, पेट्रोलयम पदार्थ, मेशिनरी सामग्री, कच्चा तेल, मोबाइल, एल.पि.ग्यास, तयारी कपडा, पेट्रोल, चामल लगायतका सामग्री पर्छन् जुन खबौं मूल्य बराबरको आयात हुने गरेको पाईन्छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा एक खर्ब ५३ अर्ब १९ करोड रुपैयाँको फलाम तथा फलामजन्य पदार्थ, दुई खर्ब १४ अर्ब ४० करोड रुपैयाँको पेट्रोलियम पदार्थ, एक खर्ब २३ अर्ब ६२ करोड रुपैयाँको मेशिन तथा मेशिनरी पार्टस् र ९७ अर्ब ३७ करोड रुपैयाँ बराबरको यातायात साधन आयात गरिएको छ ।
कुल वैदेशिक व्यापार २९.८५ प्रतिशत अंकले बढेको छ । गत आर्थिक वर्षको १२ महिनाको अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १२ खर्ब ९४ अर्ब ५० करोड रहेको थियो।
नेपालको निकासी व्यापारमा प्रमुख रुपमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरलेन्ड आदि प्रमुख छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्त राज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स लगायतका मुलुक प्रमुख रहेको पाईन्छ ।