काठमाडौं, मंसिर १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा सोधपुछका लागि लगिएको छ । लामिछानेलाई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले सोधपुछका लागि बोलाएको हो ।
कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्न पोखराबाट बिहीबार बेलुका यहाँ ल्याइएको हो । उनी भद्रकाली जिल्ला प्रहरी परिसरको हिरासतमा छन् ।
यस सम्बन्धमा प्रहरीले सहकारीका अन्य पदाधिकारीलाई पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानको क्रममा सहकारीका पूर्वडीआईजी छविलाल जोशी कुमार रम्तेललाई प्रहरीले सोधपुछ गरिसकेको छ । स्वर्णलक्ष्मीकै बचत अपचलन प्रकरणमा यसअघि उनीहरुलाई काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सहकारीबाट करिब ११ करोड १० लाख रुपैयाँ हिनामिना भएको छ । सहकारीमा २७ हजार निक्षेपकर्ता थिए जसले सामूहिक रूपमा २ अर्ब ६५ करोड बचत गरेका थिए । कुल ६ सय ४५ निक्षेपकर्ताले हिनामिना भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।