काठमाडौं, मंसिर १४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै उहाँले युवा जनशक्तिमा स्वाभिमानी, सिर्जनशील र आत्मनिर्भर सोचको विकास गराउन सक्नुपर्नेमा जोड दिनुभयो ।
“संविधानले परिकल्पना गरेको समाजवादोन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति माया गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक छ”, अध्यक्ष दाहालले भन्नुभयो । नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको उहाँको भनाइ थियो ।
“नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजी बर्सेनि अर्बौं रूपैयाँ विदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “विदेशी विद्यार्थीलाई आकर्षित गर्दै नेपाललाई शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ । त्यसका निम्ति व्यवस्थित अनुसन्धान, वैज्ञानिक नीति र सार्थक पहल आवश्यक हुन्छ ।”
निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो । (RSS)