Kath Khabar
स्थानीयतह निर्वाचन : काठमाडौँ-१६मा रास्वपा, हेटौँडा-१२ , कीर्तिपुर-१ र  राजपुर - ६ मा कांग्रेसको जित


                   काठमाडौं, मंसिर १७ । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१  को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौं, काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी हुनुभएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले  दुई हजार दुई सय २०  मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

कीर्तिपुर, कीर्तिपुर नगरपालिका-१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी हुनुभएकी छिन् । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभएको थियो ।  यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गर्नुभएको थियो ।

मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र ) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिनुभयो । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार  निर्वाचित हुनुभएको थियो ।

महोत्तरी , यहाँको रामगोपालपुर नगरपालिका-२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।  

रौतहट, यहाँको राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा  नेपाली कांग्रेसका उम्मेदवार समसे आलमले सात सय ४४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जिकरुल्लाहले चार सय ६३ मत प्राप्त गर्नुभएको  जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभएको छ । (RSS)
---

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update