काठमाडौं, मंसिर १७ । वास्तुमा घरमा धेरै रुख तथा बिरुवा लगाउनु निकै शुभ मानिन्छ । यस्तै एउटा बिरुवा हो मनी प्लान्ट । यो एक इनडोर बिरुवा हो । यसलाई घरिभत्र रोप्नु निकै राम्रो मानिन्छ । धेरैले यसलाई घरको सजावटका लागि प्रयोग गर्छन् । मनी प्लान्टको वैज्ञानिक नाम Epipremnum Aureum हो ।
मनी प्लान्ट राखिएको ठाउँको हावामा अक्सिजन बढी हुने भएकाले सास फेर्न सजिलो हुने गरेको बताइएको छ । सन् १९८९ मा गरिएको नासाको क्लिन एयर स्टडीले मनी प्लान्ट जस्ता केही घरका बिरुवाहरूमा प्राकृतिक रूपमा वायु प्रदूषकहरूलाई हटाउने शक्ति भएको पत्ता लगाएको थियो।
वास्तुका अनुसार कुनै पनि रातो रङ्गको वस्तुको नजिक मनी प्लान्ट नराख्नुहोस् किनभने यसले अशुभ शक्ति वा अशुभता ल्याउने विश्वास गरिन्छ । भान्साकोठामा मनी प्लान्ट नराख्न वास्तुविदहरु बताउछन् । वास्तुका अनुसार मनी प्लान्टको वृद्धिले सफलता, प्रगति र समृद्धिलाई जनाउँछ । त्यसैले मनी प्लान्टको पातलाई जमिन छुन नदिनुहोस् किनभने यसको अर्थ पतन हो । मनी प्लान्टको प्रत्येक शाखामा पाँचवटा पातहरू हुन्छन् जसले प्रकृतिका पाँच तत्वहरूलाई जनाउँछरु तिनीहरू हावा, पानी, आगो, धातु र काठ हुन् ।
केही बिरुवाहरूले रातमा पनि अक्सिजन उत्पादन गर्न सक्छन् यस्ता बिरुवाहरु आफ्नो सुत्ने कोठामा राख्नुभयो भने राम्रो निन्द्रा लाग्ने विज्ञहरु बताउँछन् । मनी प्लान्ट यस्तो बिरुवा हो जसले राति अक्सिजन उत्सर्जन गर्छ र तपाईलाई राम्रोसँग सुत्नको लागि वातावरण बनाउँछ । मनी प्लान्ट पानी र माटो दुवैमा बढ्न सक्छ ।
घरमा मनी प्लान्ट लगाएमा वातावरण सकारात्मक रहनुका साथै धन सम्वन्धी काममा आउने बाधाहरु हट्ने जनविश्वास रहेको छ । मनी प्लान्ट जति हरियो हुन्छ, त्यति नै शुभ मानिन्छ । यसको पात ओइलाउनु, पहेंलो वा सेतो हुनु अशुभ मानिन्छ । त्यसैले यसको खराब पात तुरुन्तै हटाउनु पर्छ । यदि तपाइँले घरमा मनी प्लान्ट रोप्नुभएको छ र यसको पात पहेँलो हुन थालेको छ भने यि उपाय अपनाउन सक्नुहुन्छ –
केराको बोक्रा तरल मल बनाउने विधि
यसका लागि सबैभन्दा पहिले केराको बोक्रालाई सानो टुक्रामा काट्नुहोस् । यी सबै टुक्राहरूलाई ग्राइन्डरमा पीस्नुहोस् । अब यसलाई एउटा ठूलो प्लास्टिकको भाँडोमा राख्नुहोस् र बोक्राको दोब्बर मात्रामा पानी थप्नुहोस् । यसका साथै बगैंचाका खराब फूल र पातहरू पनि यसमा थप्न सकिन्छ । यस पानीलाई छोप्नुहोस् र रातभर छोड्नुहोस् । बिहानसम्म केराको बोक्राको साथ तरल मल तयार हुनेछ।
चियापत्ति र प्याजको बोक्राको मल बनाउने विधि
यो मल बनाउनको लागि पहिले सुकेको प्याजको बोक्रा जम्मा गर्नुहोस् र त्यसलाई पिस्नुहोस् । अब यसलाई एउटा भाँडामा भण्डार गर्नको लागि राख्नुहोस् । त्यसमा प्रयोग गरिएको चियापत्ति र पानी पनि थप्नुहोस् । अब यसलाई भाँडोमा भण्डार गरेर राख्नुहोस् । एक हप्तापछि यो मल तयार हुन्छ ।
मल कसरी प्रयोग गर्ने ?
यसका लागि सबैभन्दा पहिले आफ्नो मनी प्लान्टको माटो हल्का गाेड्नुहोस् । बिस्तारै बिरुवाको जराहरूमा मल हाल्नुहोस् । यसलाई धेरै मात्रामा प्रयोग नगर्नुहोस् । हप्तामा एक पटक प्रयोग गर्न सकिन्छ । यी दुई घरेलु मलको सहयोगले मनी प्लान्टलाई पहेँलो हुनबाट रोक्न सकिन्छ र बोटलाई हरियो पनि राख्छ ।