काठमाडौं, मंसिर १९ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्स विरुद्ध पहिलो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको काठमाडौं गोर्खाले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
काठमाडौँ गुर्खाजका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै तीन चौका र एक छक्का हाने । यस्तै जेरार्ड एरास्मसले २८ बलमा ३८ रनको योगदान दिए । यसमा उनको तीन चौका र दुई छक्का सामेल थिए । कप्तान करन केसीले आक्रामक ब्याटिङ गर्दै १० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाए । यसैगरी माइकल लेभिटले १९ बल खेल्दै दुई चौका र एक चौकासहित २२ रन बनाए ।
बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिशन मक्सुद र विपिन शर्माले एक एक विकेट लिए ।
यसअघि कर्णाली याक्सका लागि एक सय ४९ रनको योगफल बनाउने क्रममा शिखर धवनले अद्र्धशतकीय पारी खेले । उनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए । यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए ।
बलिङतर्फ काठमाडौँका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक एक विकेट लिए । काठमाडौँले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । आजै अर्को खेल लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच हुँदैछ ।