काठमाडौं, मंसिर २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई बुधबार राति नै चितवनबाट पोखरा लगिएको छ ।
बिहान लैजाँदा उनका समर्थकहरूको भिडभाड हुन सक्ने भएपछि प्रहरीले राति नै सडकमार्ग हुँदै पोखरा लगेको बताइएको छ ।
चितवनको सहारा सहकारीको विषयमा अनुसन्धान गर्न प्रहरीले मंगलबार उनलाई चितवन लगेको थियो । बयान सकिए लगत्तै प्रहरीले बिहान ३ः३० बजे पोखरा लगेको हो ।
चितवनमा लामिछानेसँग बेलुकी ८ बजेसम्म बयान चलेको थियो । त्यस क्रममा लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परेर आठ प्रहरी घाइते भएका थिए भने प्रदर्शनकारीतर्फ १६ जना घाईते भएका थिए ।
साहारा सहकारीबाट रु १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि लामिछानेलाई बयानका लागि चितवन मङ्गलबार काठमाडौँबाट चितवन लगिएको थियो ।