Kath khabar
पन्ध्र दिनभित्र सुधारको कार्ययोजना पेस गर्न वायुसेवा निगमलाई पर्यटनमन्त्रीको निर्देशन

                  काठमाडौं, मंसिर २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिनुभएको छ ।

निगमको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री पाण्डेले निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डका रुपमा रहेको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्नसमेत निर्देशन दिनुभएको हो । निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ थियोे ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको समसामयिक गतिविधिबारे अवगत गराउँदै निगमलाई सबल र प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update