काठमाडौं, मंसिर २४ । काठमाडौं जिल्ला अदालतले सवारी हत्याकाण्डका अभियुक्त झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आइतबार न्यायाधीश खेमराज भट्टको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
गत कात्तिक २८ गते काठमाडौंको शङ्खरापुरमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीको मृत्यु भएको थियो । घाइते दुवैको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि फरार भएका उनले साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
पीडित परिवारले सुरुमा आर्थिक क्षतिपूर्तिको माग गर्दै शव लिन अस्वीकार गरेका थिए । भुजेलले पिडीत परिवारलाई आर्थिक सहयोग गरेपछि शव बुझाइएको थियो । मृतक परिवारको तर्फबाट अनिल नगरकोटीले सवारी ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।