काठमाडौं, साउन १४ । देशबाट ठूलो परिमाणमा अहिले भटमासको तेल निर्यात भएको देखिएको छ । उत्पादित भटमास स्वदेशकै लागि पर्याप्त नरहेका बेलामा यति ठूलो परिमाणमा तेल निर्यात कसरी भइरहेको छ त ?
देशमा उत्पादित भटमास भुटेर खान नै पुग्दैन भन्दा फरक पर्दैन । गाइबस्तुको दानाका लागि समेत भटमासको गेडा बाहिरबाट आयात गर्नुपर्ने स्थिती छ । तर यहि समयमा देशबाट भने करिब ५३ अर्ब ६५ करोड बराबरको भटमासको तेल निर्यात भएको छ ।
भन्सार विभागका अनुसार भटमासको तेल निर्यात गत वर्षको तुलनामा ३ सय २२ प्रतिशत अर्थात तीन गुणाले बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा १२ अर्ब ६९ करोडको भटमासको तेल निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो निर्यात बढेर ५३ अर्ब पुगेको हो ।
उच्च निर्यात हुने बस्तु तथा निर्यात बृद्धि हुने ५ बस्तुको सूचिमा भटमासको तेल पहिलो स्थानमा रहेको छ । त्यस्तै आयात हुने बस्तुको तेस्रो सूचिमा पनि यहि तेलको लागि आवश्यक कच्चा तेल रहेको देखिन्छ ।
विभागका अनुसार गत वर्ष १८ अर्बको भटमासको कच्चा तेल आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात १ सय ८५ प्रतिशतले बढेर ५३ अर्ब ३८ करोड पुगेको छ । सिमा क्षेत्रमा खुलेका प्रशोधन केन्द्रले भटमासको कच्चा तेल आयात गरि त्यसलाई प्रशोधन गरेर भारत पठाउने गरेकाले भटमासको कच्चा तेल आयात ह्वात्तै बृद्धि भएको देखिएको हो ।
यसले केहि ब्यापारीलाई मनग्य कमाउन सहयोग गरेको छ । यसबाहेक यसले खास कुनै किसिमको लाभ दिन सकेको छैन ।
निर्यात बढेको बस्तुले यहाँ के कति रोजगारी दिन सक्यो भन्ने प्रमुख बिषय बन्छ । भटमासको पेलेर आएको कच्चा तेल यहाँ आएर केहि मात्रै प्रशोधन गर्ने भएका कारण यसले धेरै मानिसहरुलाई रोजगारी दिन सकेको छैन । यस्तो उद्योगको स्थापनाका लागि उद्योगीलाई ठूलो लगानी पनि गर्नु परेको छैन ।
यसरी भटमासको तेल निर्यात बढेसँगै सरकारले १० वर्ष अघि लिएको १ खर्बको निर्यात गर्ने लक्ष्य त पुरा गरेको छ । तर स्वदेशी कच्चा पदार्थबाट उत्पादित बस्तुको आधारमा नभई यस्तो निर्यात विदेशबाट कच्चा पदार्थ आयात गरि प्रशोधन गरि पठाइएकाले यो दिगो हुने भने देखिदैन ।
भारतले अन्य देशबाट आयात हुने कृषिजन्य बस्तुमा ४० प्रतिशत कर लगाउने गरेको छ तर नेपालबाट प्रशोधन गरेर पठाएको यस्तो तेलमा भने कुनै भन्सार लाग्दैन । त्यसैले सिमा क्षेत्रमा अहिले भटाभट यस्ता प्रशोधन केन्द्र खुलेका छन् ।
यस अघि पाल्म तेलको निर्यात पनि यसैगरि अकासिएपछि भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको थियो । सरकारको आग्रह पछि पुन पाल्म तेल निर्यातका लागि पनि सरकारले बाटो भने खुला गरेको छ । भारतमा तेल निर्यात गर्ने व्यवसाय मौलाउँदा सरकारको निर्यात बढेको त देखिएला तर यसबाट सिमित ब्यापारी बाहेक अन्यले भने खासै लाभ पाउने देखिदैन । त्यसैले यस्तो आयात बढ्दा केहि सिमित ब्यापारी बाहेक न मुलुकले नत कामको खोजिमा बसेका युवाहरुलाई नै लाभ मिल्न सक्छ ।