Kath khabar
लोप हुँदै लालुपाते, कारण के ?


                गलेश्वर (म्याग्दी), मंसिर २८ । चैत-वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर-पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ ।

जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन् ।  तापक्रम वृद्धिको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तन देखिन थालेका वन र वातावरणको क्षेत्रमा काम गर्दै आउनुभएको पुष्पराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको हो ।

तीन–चार वर्षअघिसम्म जिल्लाका बावियाचौर, अर्मन, बगरफाँट, ज्यामरूककोट, शिख, हिस्तान, भकिम्ली, गौश्वारा, मराङलगायत क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । “यो समय लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन”, मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताउनुभयो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लियपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय पछि धकेलिँदै गएको हुनसक्ने कृषि प्राविधिक जगत् बानियाँले बताउनुभयो । (रासस)
–––

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update