Kath khabar
त्रिकोणात्मक टि–ट्वान्टी अन्टराष्ट्रियमा नेपालको लगातार दोस्रो जित , नेपालको लोभलाग्दो ब्याटिङ कायमै

 

काठमाडौं, बैशाख ७ । त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली नेपालले आफ्नो दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको शानदार जित हात पारेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराउँदा शतकिय साझेदारीको ओपनिङ दिलाएका कुशल भुर्तेल र आसिफ शेखको जोडीले दोस्रो खेलमा पनि आफ्नो उत्कृष्ट लय कायमै राखेर नेपाललाई जित दिलाएका हुन्  ।

नेपालको घातक बलिङ

किर्तीपुरस्थित त्रिवी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभरको पाँचौ बलमा सबै विकेट गुमाइ एक सय ९ रनमा समेटियो । ओपनर सैयद अजिजले २७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यान नेपाली बलर सामु धेरै बेर टिक्न सकेनन् । ८ खेलाडीले दोहोरो रन बनाउन सकेनन् । करण केसीले सर्वाधिक तीन विकेट लिए  । तिन ओभर बल फाल्दा उनले मात्र १७ रन खर्चिएका थिए । उनकै बलमा कप्तान अम्माद फैज रन आउट भए । सन्दिप लामिछानेले २५ रन खर्चिएर दुइ विकेट लिए । सोम्पाल कामी , दिपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले एक एक विकेट लिए पछि  मलेसिया सस्तैमा समेटियो ।

कुशल र आसिफको अर्को शानदार  ओपनिङ

जवाफमा एक सय १० रनको झिनो लक्ष्य , नेपालले १३ ओभरको पहिलो बलमा एक विकेट गुमाएर पुरा गर्यो । पहिलो विकेटका लागि ओपनरद्धय कुशल र आसिफले एक सय २ रनको ठुलो साझेदारी गरे । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदुरल्याण्ड्सविरुद्ध यी दुइ खेलाडीले एक सय १६ रनको शतकिय साझेदारी गरेका थिए । कुशल आज ६१ रनमा अविजित रहे । ४१ बलको सामना गर्दा तीन चौका र पाँच छक्का प्रहार गरेका उनले नेपालका लागि लगातार दोस्रो खेलमा अर्धशतक बनाउने खेलाडीको नयाँ किर्तीमान बनाए । आशिफको ४२ रनको योगदान रहयो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update