Kath khabar
भारतीय तबलावादक जाकिर हुसैनको निधन

                        

                    सान फ्रान्सिस्को, पुस १ । भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । परिवारले विज्ञप्ति जारी गर्दै जाकिरको मृत्यु इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसका कारण निधन भएको बताएको छ । ७३ वर्षका जाकिर उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट पीडित थिए । गत दुई सातादेखि सान फ्रान्सिस्कोको एक अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।

जाकिर हुसेनले भारतीय संगीतका साथै अन्तर्राष्ट्रिय कलाकारहरूसँग काम गरे र संगीत उद्योगमा ठूलो नाम कमाएका छन् । उनले आफ्नो प्रतिभाले विश्वभरका कलाप्रेमीहरुलाई प्रभावित पारेका छन् । उनी संगीतकार मात्रै होइनन्, एक सक्षम अभिनेता पनि हुन् । उनले ‘द परफेक्ट मर्डर’, ‘मिस बीटीज चिल्ड्रन’, ‘साज’ र ‘मन्टो’ जस्ता फिल्ममा पनि काम गरे ।  उनले आफ्नो एकल एल्बम ‘मेकिङ म्युजिक’ बाट निकै लोकप्रियता पाएका थिए ।

उनले मात्र ३ वर्षको उमेरमा तबला बजाउन सिकेका थिए र ११ वर्षको उमेरमा पहिलो स्टेज शो गरेका थिए । आफ्ना पिता अल्लाह राखाबाट संगीतको तालिम लिन थालेका उनका बुबा अल्लाह राख पनि एक प्रसिद्ध तबला वादक थिए ।

जाकिर हुसेनलाई भारत सरकारले सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषणबाट सम्मानित गरेको थियो । उनलाई सन् १९९० मा संगीत नाटक एकेडेमी अवार्ड, सन् २०१८ मा संगीत नाटक एकेडेमी फेलोशिप र रत्न सदस्यबाट पनि सम्मानित गरिएको थियो । उनलाई सन् १९९९ मा 'युनाइटेड स्टेट्स नेशनल एन्डोमेन्ट फर द आर्ट्स' को 'राष्ट्रिय सम्पदा फेलोशिप' प्रदान गरिएको थियो, जुन कलाकारहरूलाई दिइने सर्वोच्च पुरस्कार हो । जाकिर हुसैन ५ वटा ग्रामी अवार्डबाट सम्मानित भएका छन् । उनले फेब्रुअरी २०२४ मा तीनवटा ग्रामी अवार्ड प्राप्त गरे।

 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update