Kath Khabar
प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन


                  काठमाडौं, पुस १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तीनवटा अभियोगमा मुद्दा चलाउनुपर्ने माग दाबीसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रहरीले लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मामिलामा कास्की अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।  कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको अधिकृतहरूले बताएका छन् ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भएको थियो । प्रहरीले लामिछानेसहित अन्य ५० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

यो प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गर्नेछ । सो अभियोग पत्रको साथमा पेश गरिने प्रमाणका आधारमा अदालतले रविलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने निर्णय गर्नेछ । अभियोग पत्र दर्ता भइसकेपछि अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न भने पाइँदैन ।जारी अनुसन्धानअन्तर्गत लामिछाने र अन्य आरोपितमाथिको अनुसन्धान सम्पन्न गरेर ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।  रविसहितका ४ जनालाई म्याद थप गर्न प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउनुपर्ने छ ।

पोखराको सूर्यदर्शन सहकारीसँगै काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमितता गरेको आरोपमा प्रहरीले लामिछानेसँग बयान लिएको हो । सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको आरोपमा लामिछानेलाई कार्तिक २ गते  काठमाडौंबाट पक्राउ गरि कास्की लगिएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update