ललितपुर, पुस १ । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको ‘स्विच अन’ गरेर आज यो प्रविधिको शुभारम्भ गर्नुभएको हो ।
ललितपुर महानगरपालिकाको लागतमा सवारीसाधन व्यवस्थापनका लागि सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट शुभारम्भ गरिएको हो । त्यस अवसरमा मन्त्री महर्जनले ललितपुरमा ट्राफिक व्यवस्थापनका लागि राम्रो प्रयासको सुरुआत भएकामा प्रशंसा गर्नुभयो । “महानगरका सबै प्रमुख सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि यो प्रणाली प्रभावकारी हुनेछ, देशभर दर्ता भई सञ्चालनमा रहेकामध्ये ६० प्रतिशत सवारीसाधन बागमती प्रदेशमा छन्, यसलाई व्यवस्थापन गर्नु ज्यादै चुनौतीपूर्ण छ । विज्ञान र प्रविधिमा आधारित गरेर ‘स्मार्ट ट्राफिक’ व्यवस्थापनका लागि भएको यो काम महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।
ललितपुर प्रतिनिधि क्षेत्र नं २ का सांसद प्रेमबहादुर महर्जनले नयाँ प्रविधियुक्त प्रणालीले ट्राफिक व्यवस्थापन प्रणालीले यातायात सञ्चालनमा सहजता र यात्रुलाई समय व्यवस्थापनमा प्रभावकारी हुने बताउनुभयो ।
ललितपुर क्षेत्र नं २ ‘ख’ प्रदेशबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जनतासँग जोडिएको महत्वपूर्ण समस्या समाधानका लागि ललितपुर महानगरले सराहनीय काम गरेको बताउनुभयो । “लोकतन्त्र र गणतन्त्रमा जनतालाई अनुभूति गर्नेगरी सेवा दिने काम महत्वपूर्ण हो, ट्राफिक व्यवस्थापन, वायु प्रदूषण र फोहोरमैला व्यवस्थापन उपत्यकाको प्रमुख समस्या हो, यसका लागि ललितपुर महानगरले गरेको प्रयास सराहनीय छ”, उहाँले भन्नुभयो ।
महानगर प्रमुख चिरिबाबु महर्जनले महानगरबाट अध्ययन गरेर ट्राफिक व्यवस्थापनका लागि लाइट जडान गरिएको र यो नेपालमै पहिलोपटक भएको बताउनुभयो । “हाम्रो उद्देश्य काठमाडौँतर्फको ट्राफिक समस्या पार गरेर थापाथली पुल हुँदै ललितपुरतर्फ आएकालाई केही समय पनि रोक्न नपरोस् र ट्राफिक लाइटले सहजता प्रदान गरोस् भन्ने हो”, उहाँले भन्नुभयो,“यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि रहेको छ । सँगै राखिएको ‘भेहिकल डिटेक्टर’ले सवारीसाधनको नम्बर तथा विवरण ‘रिड’ गर्छ । प्रणालीले नै कुन दिशातर्फ कति समय चाहिने हो आफैँ निर्धारण गर्छ । हाल यसको ‘मनिटरिङ’ प्रणाली ट्राफिक कार्यालयमा राखिएको छ ।”
महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले धेरै विद्यामा ललितपुर महानगरपालिकाले नयाँ कामको सुरुआत गरेको छ भन्नुभयो । “एक सय छ औँ स्थापना दिवसको सन्दर्भमा हामीले यो प्रविधिको प्रयोग सुरु गरेका छौँ, हामीले गरिरहेका काममा बौद्धिक जगत्ले पनि सहयोग र समन्वय गरेर हौसला प्रदान गरिरहेको छ । उपत्यकाले झेलिरहेको ट्राफिक समस्या व्यवस्थापनका लागि ललितपुर महानगरले यो नयाँ र नौलो प्रयास गरेको छ”, उहाँको भनाइ थियो ।
उपप्रमुख बज्राचार्यले नेपालमै पहिलोपटक सञ्चालनमा आएको यो प्रविधिलाई प्रभावकारी बनाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवारीसाधन र सवारीचालक तथा पैदलयात्रीलाई ध्यान दिएर ‘म्युनिसिपल मास्टर प्लान’ अन्तर्गत यो परियोजना लागू गरिएको बताउनुभयो ।
ललितपुर महानगरपालिकाले दसैँअघि सुरु गरेर कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ । जडानको सबै प्रक्रिया सकिएपछि सोमबारदेखि नियमित सञ्चालनमा ल्याइएको हो । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएका छन् ।
लाइटसँगै राखिएको ‘भेहिकल डिटेक्टर मेसिन’ले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल ‘रिड’ गरेर तत्कालै ‘ट्राफिक लाइटको चिप तथा सर्भर’लाई जानकारी गराउँछ । सोही आधारमा व्यवस्थापन प्रणालीले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौँतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३० देखि ५० सेकेन्ड मात्रै पर्खे पुग्ने अवस्था बनाइएको महानगरले जनाएको छ ।
यो ‘लाइट फिक्स, पुलिस म्यानुअल, सिङ्क्रोनाइजेसन, एटिसिएस’ लगायत आवश्यकता अनुसारको ‘मोड’मा प्रयोग गर्न सकिने प्राविधिक सुयसभक्त माथेमाले जानकारी दिनुभयो । उहाँका अनुसार यसमा पाँच वर्षसम्म तथ्याङ्क भण्डारण हुन्छ भने सवारीसाधनको र दुर्घटनाको विवरणसमेत रहन्छ । लाइट जडान गरेको नमूना पावर ग्रेड जेभीले सुरुमा एक सय १७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि अति आवश्यक पर्ने पाँच स्थानमा यो प्रविधि जडान गरिएको हो ।
---