काठमाडौं, पुस २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै कास्की प्रहरीले फेरी म्याद थप्ने तयारी गरेकाे छ ।
प्रहरीले हिरासतको म्याद थप गर्न भन्दै लामिछानेलाई आज जिल्ला अदालतमा हाजिर गराएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीबाट प्राप्त अनुसन्धान प्रतिवेदन अध्यन गरी अभियोजन पत्र तयार गर्न समय लाग्ने भन्दै फेरि म्याद थप्न लागेको बताइएको छ । लामिछानेको यसअघि मंसिर २७ गते म्याद थपिएको थियो ।
उनीसहित प्रहरीले गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई पनि अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले सोमबार लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । उनीहरुले लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेका छन् । सोमबार बुझाएको प्रतिवेदनमा आरोपितविरुद्ध सहकारी ठगी र संगठित अपराधको गम्भीर अभियोग लगाइएको छ ।