काठमाडौं, पुस ३ । नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।
कर्णाली याक्स अन्तर्गतका भारतीय ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालले डेब्यू खेलमै अर्धशतक प्रहार गरेका छन् । उनले कर्णालीका लागि पहिलो खेल खेलेका हुन् ।
एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । त्यसैगरी, विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे भने जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक–एक विकेट लिए । चितवनले अहिले ब्याटिङ गरिरहेको छ ।
नेपाल प्रिमियर लिगमा आजदेखि प्लेअफका खेलहरू सुरु भएका हुन् । एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन् ।यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १ः०० बजे हुनेछ ।