
कास्की, पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज (आइतबार) लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायत तीनवटा अभियोगमा मुद्दा दायर गरेको हो ।
गत पुस १ गते जिल्ला प्रहरी कार्यालयले लामिछानेमाथिको छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ।
लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक छविलाल जोशी बन्जाडे, लीला पचाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङलगायत ३१ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरु सबै हाल हिरासतमा छन् ।
सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएसँगै अदालतले लामिछानेसहितका प्रतिवादीहरूबाट बयान लिनेछ । त्यसपछि हुने थुनछेक बहसमा प्रतिवादीहरूलाई थुनामा राखेर र नराखी मुद्दा चलाइरहने भन्ने निर्णय हुनेछ । लामिछाने गत असोज १८ गते देखि प्रहरी हिरासतमा छन् ।