भक्तपुर, पुस ८ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा दुई बाबुछोरा मृत फेला परेका छन् । मृत भेटिनेमा जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीण आचार्य रहेको प्रहरीले जनाएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय आचार्य आफ्ना २२ वर्षीय छोरासहित शंकास्पद अवस्थामा फेला परेका हुन् । बालकोटमा भाडाको घरमा बसेका आफ्ना दुई छोरा जेठा मिलन र कान्छो छोरा प्रवीणलाई भेट्न आचार्य पाँच दिनअघि भक्तपुर आएका थिए ।
गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन् । उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान छिमेकीले दुवै बाहिरी ढोका बाहिरबाट ताला लगाएको र कोठाभित्र बाबु छोरा मृत अवस्थामा फेला परेको बताए । शवमा घाउका चोटहरू भेटिएको र बाहिरबाट ताला समेत लगाइएकोले उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ । जेठा छोरा मिलन हाल बेपत्ता भएकाले घटनाको आशंका झनै बढेको बताइएको छ ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको र तालिमप्राप्त कुकुरसहित घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।