Kath khabar
रवि लामिछानेको सांसद पद निलम्बनमा

                   काठमाडौं, पुस ८ ।  रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ ।

संसद् सचिवालयका महासचिव पद्यम प्रसाद पाण्डेयले आज जारी गरेको सूचनापत्रमार्फत लामिछानेको सांसद पद निलम्बनमा परेको उल्लेख गरिएको छ । अब लामिछानेको मुद्दाको किनारा नलागुञ्जेलसम्म निलम्बनमा रहनेछन् ।

‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ’, संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सभामुखलाई पत्र लेखी चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र (दर्ता नं. २०८१–०१–०४३५) दर्ता भएको थियो । यससम्बन्धी विवरणसहितको पत्र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीबाट संसद् सचिवालयलाई प्राप्त भएको पनि सूचनामा गराइएको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update