Kath khabar
महंगा मोबाइलको प्रयोग बढेसँगै एक वर्षमा देशबाट ३६ अर्ब ९० करोड बाहिरियो

काठमाडौं, साउन १५ । महामारी फैलिएसँगै वित्तीय कारोबार मात्रै होइन पठपाठन पनि डिजिटल माध्यमबाट भैरहेको छ । डिजिटल माध्यमबाट पठनपाठन गर्न थालेसँगै मोबाइल आयात उच्च मात्रामा बृद्धि भएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ३६ अर्ब ९० करोड बराबरका फोनहरु आयात भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७७ मा भने यस्तो आयात १८ अर्ब १७ करोड रहेको थियो । यसरी हेर्दा एक वर्षमै मोबाइल फोनका लागि देशबाट बाहिरिने रकममा १ सय ३ प्रतिशतले बृेद्धि भएको छ।

अघिल्लो आर्थिक वर्षमा ४३ लाख ६५ हजार पिस मोबाइल आयात भएको थियो । गत आर्थिक वर्षमा भने संख्यात्मक रुपमा ६१ प्रतिशतले बृद्धि भएर ७० लाख ३० हजार पुगेको छ । यसरी संख्यात्मक रुपमा भन्दा बाहिरिने रकम बढि भएको आधारमा बिश्लेषण गर्ने हो भने महंगा मोबाइलको आयात बढेको देखिन्छ ।  

कोरोना महामारीको दोस्रो लहर फैलिन थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गर्याे । सबै मानिस घरमा बन्द भए पछि इन्टरनेटको प्रयोग बढ्यो । आर्थिक कारोबार मात्रै होइन, पठनपाठनका लागि पनि इन्टरनेटको प्रयोग बढेपछि यता मोबाइले खपत पनि ह्वात्तै बढ्यो।

मोबाइल आयात ह्वात्तै बढेपनि यो पहिला जस्तो मनोरञ्जनका लागि मात्रै नभई शिक्षाका लागि प्रयोग भएकाले यसलाई नकारात्मक रुपमा लिन नहुने सरकारी अधिकारीहरु बताउँछन् । अनलाइन शिक्षासँगै मोबाइल बजारमा भने ग्राहकको भिड बढेको छ । महामारीमा अन्य व्यवसायी कसरी व्यवसाय बचाउने होला भन्ने सोचमा रहेका बेलामा मोबाइल बिक्रेताहरुले भने राम्रो आम्दानी गरेका छन् ।

मोबाइलमा यसअघि अंकित मूल्यमा पसलेहरुले केहि छुुट दिने गरेकामा अहिले भने माग बढेपछि ग्राहकले त्यस्तो छुट पाएका छैनन्। बजारमा अहिले १५ हजार देखि ३० हजारसम्मका फोन बढि बिक्री भएका छन् । अनलाइन शिक्षाका लागि प्रयोग भएका मोबाइलको खपत महामारी रहेसम्म बढ्ने देखिन्छ ।

मोबाइल आयातबाट राज्यले पनि केहि आम्दानी भने गरेको छ । विभागका अनुसार मोबाइलमा लाग्ने करबाट राज्यले ५ अर्ब ८४ करोड प्राप्त गरेको छ । अघिल्लो वर्ष २ अर्ब ८७ करोड प्रांप्त गरेकोमा यस्तो राजस्व १ सय २ प्रतिशतले बृद्धि भएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update