काठमाडौं, साउन १५। सरकार गठन भएको सय दिनभित्र हनीमुन पिरियड मानेर आलोचना या समिक्षा नगर्ने पश्चिमाहरुको प्रचलन प्रधानमन्त्री शेर बहादुर देउवाको हकमा लागु हुन सक्दैन । पहिलोपल्ट विवाह बन्धनमा बाँधिएका जोडीको जस्तो माया प्रेम, उत्साह र उमङ्ग दोहोर्याएर तेहेर्याएर विवाह गर्नेको जोडीमा हुँदैन । शेर बहादुर देउवा यो देशमा सांसद, मन्त्री, प्रतिपक्ष दलको नेता र प्रधानमन्त्रीको भूमिकामा पटक पटक अवसर पाएको व्यक्ति हुनुहुन्छ । देउवाले आफ्नो दृष्टिकोण, विचार र श्रृजनशिलता लागु गर्ने अवसर यो भन्दा पहिले नै प्राप्त गरी सक्नुभएको छ । देउवाको समिक्षा गर्न सय दिन कुर्न आवश्यक नै छैन किनकी उहाँको क्षमता, इमान्दारिता र दुरदर्शिता देशले यसअघि नै देखिसकेको छ ।
अहिलेको सरकार जनताको चाहना अनुसार गठन भएको होइन। विगठित नेपाल कम्युनिस्ट पार्टि भित्र भएको सत्ता संघर्षको लाभ शेर बहादुर देउवाले पाउनुभएको हो । के पी शर्मा ओली, माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको आकांक्षा नेकपाले समाल्न नसकी पोखिदा सत्ताको बागडोर देउवाको हातमा गएको छ । स्वयं देउवा नै सत्तायात्राको लागि उत्सुक हुनुहुन्थेन भन्ने कुरा पहिलो पल्ट संसद विघटन हुँदा उहाँले गरेको व्यवहार तथा अभिब्यक्तिले प्रस्ट पार्दछ । नेपाली कांग्रेस र देउवाका लागि अहिले प्राप्त सत्ता भोक नलागेको बेला सत्कारपूर्वक दिएको मिठो भोजन जस्तै भएको छ जसलाई न अस्विकार गर्न सकिन्छ न त खाएर पचाउन सकिन्छ ।
कम्युनिष्ट कति गल्ती गर्दछन् भनी गन्दै बसेको कांग्रेस जसले आफ्नो सबल पक्ष देखाएर होइनकी अरुको दुर्बलता प्रचार गरी आगामी चुनाबलाई प्रभाव पार्ने योजनामा मग्न थियो । कम्युनिष्टको असफलतामा आफ्नो सफलता देखेको कांग्रेसलाई अपरझट आइपरेको सत्ताको बागडोरले खल्बलाएको छ ।
पाँच वर्षमा कम्युनिष्टले देश बर्बाद पारे भन्दै भाषण गर्ने रणनिती बनाएको कांग्रेसलाई आगामी डेढ वर्षको उपलब्धी देखाएर भोट माग्नुपर्ने बाध्यता छ । सकारात्मक भन्दा नकरात्मक कुरा छिटो प्रवाह हुने नेपाली समाजमा के पी शर्मा ओलीले गराएको चुनाबमा भन्दा देउवाको नेतृत्वमा भएको चुनाब नेपाली कांग्रेसलाई महङ्गो पर्ने निश्चित छ ।
राजनितिका चतुर खेलाडी शेर बहादुर देउवालाई छोटो समयको सरकारको यात्राले नोक्सान पुर्याउछ भन्ने जानकारी नभएको होइन । उहाँले त पहिलोपल्ट विघटन भएको संसदलाई अप्रत्यक्ष समर्थन गर्नुभएको नै हो । उहाँले कांग्रेस कार्यकर्तालाई चुनावको तयारी गर्न तथा माधव कुमार नेपाल, रामचन्द्र पौडेल र पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्न अग्रसरता देखाउन गरेको अनुरोधलाई नजरअन्दाज गर्नुभएकै हो । बास्तबमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा देउवालाई पठाइ असफल पार्ने तथा माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको जसरी भए पनि ओलीलाई सत्ताच्यूत गर्ने प्रपञ्चका कारण शेर बहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ ।
कतिपयले गिरिजा प्रसाद कोइरालालाई जिवनको उत्तरार्धमा सफलता प्राप्त गर्नुभएकोले देउवालाई त्यस्तै अवसर मिलेको विश्लेषण गरेका छन् । गिरीजा प्रसाद कोइराला २०४६ सालको जनआन्दोलनपछि स्थापित भइै नेपाली राजनितिमा गणतन्त्रको स्थापनासम्म देशको केन्द्रविन्दुमा रहनुभयो । भ्रस्टाचार, परिवारवाद, फाँसीबाद जस्ता अनेक आरोपबाट आरोपित गिरिजा प्रसाद कोइराला माओबादीलाई शान्ती प्रक्रियामा ल्याएर संविधान सभाको चुनाव गराइ नेपालबाट राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना गराउन सफल हुनुभएको थियो । देउवालाई गिरीजा प्रसाद जस्तै विगतका मैलो पखाल्ने अवसर प्राप्त भएको विश्लेषण भएपनि राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेसले उहाँलाई सफलता प्राप्त गर्न सजिलो छैन । देउवा सरकारको कुर्चीको चार खुट्टा नै उहाँका प्रतिकुल भएको हुँदा सफलता असंभव देखिएको हो । उहाँका सम्भावित असफलताका चार कारणहरुलाई यसरी सुत्रबद्ध विश्लेषण गर्न सकिन्छ ।
१. नेपाली कांग्रेस प्रधानमन्त्री शेर बहादुर देउवालाई उहाँकै पार्टि अनुकुलतामा छैन । २०६२ र ६३ सालको जनआन्दोलनताका गिरीजा प्रसाद कोइरालालाई नेपाली कांग्रेस पार्टिभित्र त कुरै छाडौँ एमाले र माओवादीका नेताले समेत उहाँका अगाडि डटेर कुरा गर्न सक्दैनथे । उहाँको नेतृत्वको रापताप कति थियो भने जनआन्दोलनपछि भारत जादाँ भारतका तत्कालीन प्रधानमन्त्री मनोमोहन सिँह आफै विमानस्थलमा आई चीन र अमेरिकाका रास्ट्रपतिलाई जस्तै भव्य स्वागत गर्दै एशियाकै अग्ला नेता भन्नुभएको थियो ।
आगामी भाद्रमा नेपाली कांग्रेसको महाधिवेसन तोकिएको छ । सत्तासिन भएको नाताबाट एकाध महिना महाधिवेसन सारेपनि आगामी संसदिय चुनाबभन्दा अगाडि महाधिवेसन गर्नै पर्दछ । आगामी महाधिवेसनबाट देउवा नेपाली कांग्रेसको सभापतिमा दोहरिने चाहना सार्वजनिक गरिसक्नु भएको छ । सभापति नहुँदा राजनितिबाट विश्राम लिनुपर्ने र दोहोरिदा कांग्रेसका आधा दर्जन भन्दा बढी आँकाक्षीलाई ब्यवस्थापन गर्नुपर्ने बाध्यतामा देउवा हुनुहुन्छ ।
आफ्नो समुहभित्र गत महाधिवेसनमा सर्वसम्मत उम्मेदवार हुनुभएको देउवालाई यसपालि आफ्नै गुटबाट उपसभापति विमलेन्द्र निधिले चुनौती दिइसक्नुभएको छ । सभापतिको आकांक्षा राख्नेको आगामी चुनावबाट निर्वाचित भएर प्रधानमन्त्री हुने सपना नहुने कुरै भएन । तानतुन पारेर सभापति भइहालेमा उहाँका प्रतिद्धन्दीहरु उहाँलाई सरकारमा असफल पारेर आगामी चुनावपछि गठन हुने सरकारमा जान नदिन कम्मर कसेर लाग्ने छन् । उहाँलाई असफल पार्ने खेल पार्टिभित्रबाट खेलिने भएको हुँदा यो सरकारले जनसरोकारका विषयमा प्रभावकारी काम गर्न सक्ने संभावना एकदमै कम छ । बाहिरी प्रहार यथाबत रहेको अवस्थामा पार्टिभित्रकै प्रहारलाई निस्तेज पार्न उहाँलाई मुस्किल छ । आन्तरिक रुपमा बलियो नभए विगतका कांग्रेसका सरकार र ओली सरकार पार्टिभित्रकै किचलोका कारण असफल भएको उदाहरण काफी छ । आन्तरिक रुपमा कमजोर नेताले साहसिक कदम चाल्न नसक्ने हुँदा देउवाले नेपाली जनताका समस्या हल गरी स्वर्णिम इतिहास रच्न कठिन छ ।
२. मधेसबादी दल मधेसवादी दल र कांग्रेस दुवैको भोट बैंंक तराई नै हो । सहयात्रासँगै प्रतिस्पर्धा पनि भएकोले आगामी चुनावलाई मध्यनजर राख्दै कांग्रेस नेतृत्वलाई स्थापित हुन मधेसवादी दलले दिदैँन । शक्ति र सत्ताका लागि जे पनि गर्न सक्ने भनि चिनिएका मधेसवादी दलका कारण सरकार लोकप्रिय हुन सक्दैन । सुशासन दिन तथा राष्ट्रियता बलियो बनाउन मधेसवादी दलका कारण देउवालाई सजिलो छैन । तराईका जनताका मनोभावना भड्काएर चुनाब जित्दै सत्तामा रमाउने मधेसबादी दलका अराजनैतिक कदमका असर कांग्रेसलाई अवश्य पर्नेछ । नागरिकता विधेयक पास गर्नुपर्ने, अदालतले दोषी ठहर गरी जेल चलान गरेका रेसम चौधरीलाई रिहा गर्नुपर्ने जस्ता तमाम मागहरुलाई संवोधन गर्नुपर्ने देउवालाई बाध्यता छ । राष्ट्रघाति नागरिकता विधेयक अगाडि बढाउदा सरकार आलोचित हुन्छ नै साथै रेसम चौधरीलाई रिहा गर्दा कानुनीराजमा समेत दुरगामी असर पर्दछ । मधेसवादी दल विना वर्तमान सरकारको कल्पना गर्न समेत सकिदैँन । भारतमुखी, तराइका जमिन्दार तथा सेन्टीमेन्टका आधारमा राजनैतिक गतिविधि गर्ने गर्ने त्यस्ता दलका नेताका कारण देश नै अप्ठेरोमा परिरहेको हुँदा यो सत्तायात्रा देउवाका लागि बदनामी पाउने अर्को समय हुने निश्चित छ ।
३. पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको गठबन्धन दाहाल र नेपालको उद्देश्य कांग्रेस नेतृत्वमा सरकार गठन गरी देशमा सुसाशन तथा विकास ल्याउने होइन । पार्टिभित्र के पी शर्मा ओलीले पावर सेयरिङ नगरी एक्लै पार्टि र सरकार चलाउँदा अपमानित महसुुस गरी जसरी भएपनि ओलीलाई पार्टिबाट र सरकारबाट हटाउने एक सुत्रिय उद्देश्यका कारण देउवालाई समथर्न गरिएको हो । देउवासँगको सहयात्रा दाहाल र नेपाललाई एकछिन चौतारामा सुस्ताउने प्रवन्ध मात्र हो । आफ्नै सहकर्मीलाई पाँच वर्ष सत्ता सञ्चालन गर्न नदिने यि नेताले देउवालाई सजिलै काम गर्न दिने संभावना छैन । प्रचण्डले बारबार उच्च स्तरिय राजनैतिक समिति माग गरिरहनुभएको छ जसको उद्देश्य देशको कार्यकारी प्रमुखलाई नियन्त्रण गर्नु हो । जब देशकै कार्यकारी प्रमुखले स-साना कुरामा समेत अनुमति लिनुपर्दछ त्यस्तो प्रधानमन्त्रीबाट फटाफट निर्णय लिएर देश चल्न सक्दैन ।
दाहाल र नेपालको अहिलेको रणनिति ओलीलाई कमजोर पार्नु हो । उहाँहरु प्रथमत एमालेमा माधव नेपालको बहुमत पुराउने खेल खेल्नुभएको छ । माओवादीसँगको एकता अगाडिको एमालेमा माधव कुमार नेपाल र के पी शर्मा ओलीको प्रभाव बरावरी जस्तै थियो वा झिनो बहुमत ओलीको पक्षमा थियो । त्यही केन्द्रिय समिति ब्युताएर सत्ताको प्रभावमा बहुमत पुर्याउने योजना उहाँहरुमा भएको प्रष्ट देखिन्छ । संसदीय दल र पार्टिमा बहमत नभए चालिस प्रतिशत पुर्याउनेमा उहाँहरु ढुक्क देखिनुभएको छ । सके बैधानिक रुपमा सिङ्गो एमाले नभए ठुलो पंक्ति फुटाएर नयाँ शक्ति बनाएर चुनावमा जाने दाहाल र नेपालको रणनिति प्रष्ट छ । एक दुई महिनामा नै यो काम सकेर ब्यापक संगठन निर्माण गरी जनतामा स्थापित हुने सपना देख्नुभएका दाहाल र नेपालको प्रहार अब कांग्रेस र देउवामाथि नै हुनेछ । कमजोर भएका ओलीलाई सधै आलोचना गरेर उहाँहरुको राजनैतिक अभिस्ट पुरा हुँदैन ।
४. अन्तर्राष्ट्रिय शक्ति प्रधानमन्त्री सपथ नहुँदै अग्रिम बधाइ दिने छिमेकीका समकक्षीले यसपालि ढिलो तथा औपचारिकतावस प्रधानमन्त्री देउवालाई शुभकामना दिएको देखिन्छ । उत्तरी छिमेकी चीनले ओली वा नेकपा कै अरु कोही प्रधानमन्त्री बन्न जोड दिएको सार्वजनिक नै छ । साथै भारत पनि शुरुमा ओलीसँग रुस्ट देखिपनि पछिल्लो समय ओलीबाटै उसका सरोकार संबोधन हुनेमा ढुक्क थियो ।
विगतमा चीनसँग चिसो सम्बन्ध भएका तथा अमेरिकी परियोजना एम सी सी संसदबाट पारित गराउन प्रतिबद्ध देउवासँग चीन सशंंकित छ । पश्चिमा देशहरु अमेरिका र यूरोपिय देशप्रति नजिक भएको आरोप लागेका देउवा प्रधानमन्त्री हुँदा भारत न खुसी न दुःखीको अवस्थामा देखिन्छ । एम सी सी परियोजना पास नगरे पश्चिमा शक्ति भड्किने अगाडि बढाए देशभित्र सशक्त प्रतिरोध हुने हुँदा देउवा दुवै प्रकारले असफल हुने संभावना छ ।
संसारकै महाशक्ति बन्ने आकांक्षा पालेको चीनलाई अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनिति अन्र्तगतको परियोजना नेपालमा लागु हुने कुरा सैह्य हुनेछैन । साथै आफ्नो पुरा प्रभाव रहेको नेपालमा अमेरिकी प्रभाव विस्तार हुने कुरा भारतलाई पनि पाच्य छैन । तसर्थ संसारमै तिब्र प्रतिस्पर्धा गरिरहेका अमेरिका र चीन को दबाब नेपाललाई महङ्गो पर्नेछ । देउवाले विगतमा जस्तै शक्ति केन्द्रलाई सन्तुलित राख्न सक्नुभएन भने उहाँलाईमात्र होइन सिङ्गै देश अफ्ठेरोमा पर्नेछ ।
सत्ताबाट गलहत्याइएका केपी शर्मा ओलीको साथ देउवाले नपाउने त सामान्य नै हो । संक्षेपमा देउवा ‘भुतले खाजा खाने समय’मा प्रधानमन्त्री बन्नु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशले देउवाको कार्यकालमा नेपाल र नेपाली जनताको हितमा काम हुने न्युन मात्रै संभावना छ । त्यसैले देउवाले कलङ्कित नभइ सत्तायात्रा टुङ्गाउने उपाय भनेको ओलीको जस्तै अर्लि इलेक्सन हो । पार्टिभित्रको समस्या, गठबन्धनका सहयात्रीका अनेक स्वार्थ पुरा गर्नुपर्ने बाध्यता र अन्तर्राष्ट्रिय परिवेस देउवाका खिलापमा भएको हुँदा काम गरेर स्वर्णिम इतिहास रच्ने सपना देख्नुभन्दा पार्टिको महाधिवेसन र देशमा संसदिय चुनावमा छिटो गराई सहज राजनैतिक विश्राम लिँदा यसमा नै देउवाको हित हुने देखिन्छ ।