नयाँदिल्ली, पुस १२ । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । सिंह आज घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उहाँको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोस भएका उहाँलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।
“सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो, “ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिनुभएको थियो ।
सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो । सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो । उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उहाँलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् । प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उहाँले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाउनुएको थियो ।
उहाँले अर्थमन्त्रीलगायत सरकारका धेरै महत्वपूर्ण पदमा रहेर काम गर्नुभएको थियो । उहाँ हाम्रो आर्थिक नीतिमा गहिरो छाप छोड्नु भएको छ । संसद्मा उहाँको विचारशील हस्तक्षेप सधैं अविस्मरणीय रह्यो । प्रधानमन्त्रीका रूपमा उहाँले जनताको जीवनस्तर उकास्न अथाह प्रयास गर्नुभयो ।” कांग्रेस नेता राहुल गांधीले पनि दिवंगत नेताप्रति श्रद्धाञ्जलि दिँदै शोक सन्तप्त परिवारजनमा समवेदना दिनुभएको छ ।
उहाँले भन्नुभयो, “मनमोहन सिंहजीले ठूलो बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गर्नुभयो। उहाँको नम्रता र अर्थशास्त्रको गहिरो ज्ञानले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्यो।” उहाँले भन्नुभयो, “उहाँको परिवारप्रतिे हार्दिक समवेदना प्रकट गर्दछु । मैले एक जना गुरु र मार्गदर्शक गुमाएको छु । हामीमध्ये लाखौं उहाँका शुभचिन्तक थियौं । हामी उहाँलाई गर्वका साथ सम्झनेछौं।”
उहाँले भन्नुभयो, “मनमोहन सिंहजी प्रधानमन्त्री हुँदा र म गुजरातको मुख्यमन्त्री हुँदा मसँग नियमित कुराकानी गर्नुहुन्थ्यो। हामीले शासनसँग सम्बन्धित धेरै विषयमा विस्तारमा छलफल गथ्र्यौं । उहाँको विद्वता र नम्रता सधैं सम्झिइनेछ ।“
सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । शोक जनवरी १ सम्म मनाइनेछ ।
“स्वर्गीय डा मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झण्डा आधा झुकाइनेछ । अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रबार सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर शुक्रबार मैदानमा पुगेको थियो । राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् ।
– सरल टेक्नोक्र्याट –
पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।
दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान गर्यो ।
सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मनुभएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गर्नुभयो । राष्ट्रको सर्वोच्च पद लिनुअघि उहाँ कहिल्यै निर्वाचित पदमा बस्नुभएको थिएन । उहाँले केम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाउनुभएको थियो ।
सिंहले वरिष्ठ निजामति सेवाका विभिन्न पदमा काम गर्नुभयो, केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा सेवा गर्नुभयो र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाल्नुभयो । सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पी.भी. नरसिंह रावले उहाँलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिनुभएको थियो ।
आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गर्नुभयो । यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो । उहाँले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो । उहाँले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताउनुभएको थियो ।