मनाङ, पुस १२ । हिमाली जिल्ला मनाङ हिउँ चितुवाको बासस्थान भएको क्षेत्र मानिन्छ । हिमालकी रानी भनेर उपनाम पाएको हिउँ चितुवा लोपोन्मुख वन्यजन्तुको सूचीमा पर्दछ ।
वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने यस वन्यजन्तु हिउँ चितुवाको संरक्षण र अवलोकनका लागि यहाँ होटल सञ्चालनमा ल्याइएको छ । पारिस्थिकीय प्रणालीको संरक्षणका लागि पनि हिउँ चितुवाको भूमिका महत्त्वपूर्ण रहने भएकाले यसको संरक्षण र अवलोकनका निम्ति सहज बनाउने उद्देश्यले होटल खोलिएको जनाइएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–८ गुम्छाङमा स्नो लियोपार्ड ह्यावन (हिउँ चितुवाको स्वर्ग) नामकरण गरी होटल सञ्चालन गरिएको छ । लामो समयदेखि होटल तथा पर्यटन व्यवसायमा सम्बद्ध पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष एवं होटल सञ्चालक विनोद गुरूङले पारिस्थितिकीय प्रणालीको सन्तुलन गर्ने जीव लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि होटल सञ्चालनमा ल्याएको बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “जनवरी, फेब्रुअरी, मार्च र अप्रिल महिनामा हिउँ चितुवाको अवलोकन सिजन हो, यसका साथै हिमालमा रहने विभिन्न प्रजातिका चराचुरूङीको अवलोकन गर्न सकिन्छ, अत्यधिक चिसोका कारण आहाराका लागि हिउँ चितुवा तल्लो क्षेत्रमा झर्ने गर्दछन्, यसका आहार पनि चिसोले गर्दा तल झर्ने हुँदा सहज रूपमा हेर्न सकिने अवस्था छ ।” तीन हजार नौ सय मिटर उचाइमा अवस्थित यस होटलबाट नाङ्गो आँखाले प्रत्यक्ष हिउँ चितुवा हेर्न सकिने उहाँले बताउनुभयो ।
नेपालकै पहिलो हिउँ चितुवा हेर्नका लागि होटल सञ्चालनमा ल्याइएको अध्यक्ष गुरुङको भनाइ छ । “यस समयमा विशेषगरी वाइल्डलाइफ फोटोग्राफीका लागि महत्वपूर्ण मानिन्छ, यसका लागि सहज बनाउने उद्देश्यले होटल सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “मुनाफा लिनुभन्दा पनि हिउँ चितुवा र यहाँ पाइने लोपोन्मुख विभिन्न प्रजातिको वन्यजन्तुको संरक्षणसँगै यिनीहरूको प्रवद्र्धन तथा जनचेतना जगाउन लागिएको हो ।”
अध्यक्ष गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनले लोप हुने अवस्थामा पुगेका यस्ता संरक्षित वन्यजन्तुको संरक्षणमा जुट्नुपर्छ, यसै वन्यजन्तुलाई पर्यटनसँग जोड्न पनि आवश्यक रहेको छ, यहाँका स्थानीय नै यसको संरक्षणमा जुट्नुपर्ने हुन्छ, हामी नै अग्रसर भए मात्रै सम्भव हुन्छ ।” यसले गर्दा अहिलेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ । नमस्ते टुर एन्ड ट्रेकिङको व्यवस्थापनमा होटल सञ्चालनमा ल्याइएको हो ।
जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा पारसविक्रम सिंहले जैविक विविधतामा महत्त्वपूर्ण भूमिकामा रहेको हिउँकी रानी हिउँ चितुवालगायत वन्यजन्तुका साथै चराचुरूङ्गी हेर्न होटलले पर्यटन प्रवर्द्धनसँग पनि जोडेको बताउनुभयो । यस होटलले लोपोन्मुख वन्यजन्तुको संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा उहाँको छ ।
यस्ता होटल सञ्चालनमा आएपछि यहाँ ‘अफसिजन’मा पनि पर्यटकको आगमन बढाउन सहयोग पुग्ने अध्यक्ष गुरुङको विश्वास छ । उहाँका अनुसार विदेशी मात्रै नभई स्वदेशी पर्यटकको पनि आगमनले यहाँको पर्यटन व्यवसाय बाह्रै महिना चलायमान बनाउनेछ ।
अध्यक्ष गुरुङले भन्नुभयो, “मनाङको जैविक विविधताको संरक्षणका लागि यस होटलले प्रवद्र्धन गर्नेछ, यसले यहाँको जैविक विविधता संरक्षणका लागि हाम्रो जीवनसँग जोडिएको हिउँ चितुवा र याक महत्त्वपूर्ण छन् । यी बिना हाम्रो जीवन छैन । जसले गर्दा प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउनेछ ।”
यस होटलमा योगा, ध्यान गर्नका लागिसमेत व्यवस्थापन गरिएको होटलले जनाएको छ । यस होटलबाट यहाँ मनोरम हिमशृङ्खला देख्न सकिन्छ । प्रत्यक्ष रूपमा यहाँका लोपोन्मुख वन्यजन्तुको अवलोकन गर्न सकिनेछ । यस स्थानबाट अन्नपूर्ण, गङ्गापूर्ण, तिलिचो पिकका साथै यहाँका लोपोन्मुख सेतो हिमाली गिद्ध प्रत्यक्ष रूपमा हेर्न सकिन्छ । यस स्थान विशेषगरी फोटोग्राफीका लागि उपयुक्त मानिन्छ ।
गुम्छाङ थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बास बस्नका लागि उपयुक्त स्थानसमेत हो । दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् । (रासस)
–––