दक्षिण कोरिया, पुस १४ । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुइ जनाकाे जीवितै उद्धार गरिएको छ ।
एक सय ७५ जना यात्री र चालक दलका ६ जना सहित १८१ जना रहेको जेजु एयरको बोइङ–७३७ यात्रुवाहक विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
योनहापको रिपोर्टका अनुसार ल्यान्डिङ गियर फेल भएपछि आपत्कालीन अवतरणका क्रममा विमानको गति घटाउन नसक्दा विस्फाेट भएकाे हुनसक्ने बताएका छन् ।सामाजिक सञ्जालमा देखिएका भिडियोहरूले विमानले ल्यान्डिङ गियर प्रयोग नगरी अवतरण गर्ने प्रयास गरेको देखाउँछ। विमान जमिनमा चिप्लिएर पर्खालमा ठोक्किन्छ र आगो लागेको देखिन्छ । विमान लगभग पूर्ण रूपमा नष्ट भएको छ ।
जेजु एयरका सीईओ किम ईबेले पीडित परिवारलाई आवश्यक सबै सहयोग गर्ने वाचा गर्दै आफ्ना प्रियजनहरू गुमाएका परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् ।