काठमाडौं, पुस १८ । भाइरल बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
१३ वर्षका सचिनकाे विगत केही दिनदेखि आइसियुमा उपचार भइरहेको थियो । ‘सिभियर निमोनिया’ भन्ने रोगका कारणले ‘पल्मोनरी ह्यामरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
'के छ हजुर' भन्ने थेगोले सामाजिक सञ्जालमा भाइरल बनेका उनी सानैदेखि शारीरिकरूपमा कमजोर थिए । सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोग माग गरेको थियो । उपचारका लागि सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारलाई संकलन भएको रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।
सचिनले गाएका गीतहरू सामाजिक सञ्जालमा भाइरल छन् । उनले कमेडी शृंखला 'मेरी बास्सै' मा पनि आफ्नो छाप छोडेका छन् । उनका ‘रातो रबर एक’, ‘रुमाल खाछकी’, ‘के छ र हजुर’, ‘बर्को छायाँले’ जस्ता चर्चित गीतहरूसार्वजनिक भएका छन् ।