काठमाडौं, साउन १६ । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज नेवांङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबिचको विवादको छानबिन अगाडि बढ्ने भएको छ । एन्फाको कार्यसमितीको आज बसेको बैठकले यी दुई बिचको विवाद छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ । गत आइतबार प्रशिक्षक अल्मुताइरीले आफुसँग नेवांङले नाटक देखाएको भन्दै फेसबुक मार्फत राजीनामाको घोषणा गर्नुभएको थियो तर नेवाङले आफुले अब्दुल्लाहको कार्यमा अहिले सम्म नबोलेको बताउनुभएको छ ।
यस्तै साफ च्याम्पियनसीपको आयोजनाको लागि नेपालले दक्षिण एसियाली फुटबल महासंघ समक्ष १० करोड बराबरको प्रस्ताव राख्ने निर्णय गरेको छ । सो प्रतियोगिताका लागि नेपाल सरकारको सुरक्षित आयोजनाको प्रतिबद्धता जनाइसकेको छ भने मन्त्रीस्तरियबाट पाँच करोड रुँपैया पनि छुट्टाएको छ । साथै महिला फुटबलको एसियन कप छनौट अघि इरान र अन्य राष्ट्रका महिला फुटबल टिमसँग छलफल भइरहेका एन्फाले जनाएको छ । साफ च्याम्पियनसिपको तयारीमा सिंगापुर, भारत, बंगलादेश लगाएतका देशहरुसँग पत्रचार भइरहेको एन्फाले जनाएको छ ।