Kath Khabar
‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति


                    कञ्चनपुर, २१ । ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गर्नुभएको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।

काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उहाँको भनाइ रहेको छ । संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि उहाँले कारबाहीको माग गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।
–––

 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update