बेइजिङ, पुस २३ । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।
चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पको केन्द्र २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री ई देशान्तरमा रहेको बताएको छ । हाल चिनियाँ सेनाले भूकम्पको केन्द्रबिन्दुमा स्थितिको आकलन गर्न ड्रोन तैनाथ गरेको छ ।
यसैबीच, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले मङ्गलबार तिब्बत स्वायत्त क्षेत्रको सिजाङमा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
चीनमा मङ्गलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ ।
डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् । डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेशनको विद्युत् कटौती भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ ।