Kath Khabar
भूकम्पबाट नेपालको पूर्वी भेगमा सामान्य क्षति

               काठमाडौं, पुस २३ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिनुभयो । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उहाँले भन्नुभयो ।

यस्तै, सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताउनुभयो । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उहाँले भन्नुभयो, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”

नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिनुभयो । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ ।

भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उहाँले बताउनुभयो । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरु भने सकुशल रहेका छन् ।

भूकम्पबाट जिल्लामा मानविय क्षति भने नभएको प्रजिअ खड्काले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।   (RSS)
–––

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update