ललितपुर, साउन १६ । “समय कति छिटो दौडदो रहेछ, कसैले भेट्टाउनै नसक्ने गरी । यदि समयलाई कसैले भेट्टाउँथ्यो, समयले कसैलाई पर्खन्थ्यो भने, सायद मैले पनि केही समय, त्यो समयलाई पर्खाउथे । त्यो बालापनमा खेलेका, डुुलेका र भोगेका अनिगिन्ती भोगाईहरुको साथमा केही समय, त्यो समयलाई पर्खादिन्थे । ”
यसो भन्दै गर्दा ८३ बर्षिय बद्री प्रसाद हुमागाईँको मनमा अतितका अनिगिन्ती यादहरु छताछुल्ल भएको प्रष्टै देखिन्थो । जुुन कुरा उहाँले चाहेर पनि कहिले भुल्न सक्नुु हुदैनथ्यो । यदि भुल्नुु हुन्थ्यो भने ८३ बर्षको यो उमेरसम्म उहाँलाई आफ्ना अतितका हरेक कुराहरु कुुनै चलचित्रका दृष्यहरु जसरी कसरी याद आउन सक्थ्यो र ?
८३ बर्षिय हुमागाईँ ति आम व्यक्तित्वहरु मध्येका एक प्रतिनिधि पात्र हुनुहुन्छ, जसले जीवनलाई अझ सहज बनाउने उदे्श्यसहित आफ्नो थाँतथलो छोडेर काठमाडौं आउनुभयो । आफ्नो थाँतथलो, आफ्नो जन्मघर, खेतवारी, पानी पंधेरा, ति वनपाखा, अनि चराचुुरीहरुको चिर्रबिर्र, त्यो आवाजलाई चटक्कै छोडेर आउने रहर कसलाई लाग्थ्यो होला र ? तर ति हरेक रहर भन्दा मानिसहरुको बाध्यता निकै माथि हुँदो रहेछ । सायद त्यही बाध्यताको पोको बोकेर हुमागाईँको परिवार बि. सं १९७४ सालमा आफ्नो थाँतथलो छोडेर ललितपुरको किटनीमा बसाई सर्यो । जीबुवा, जीआमा, आमा र काका सहितका पाँच जनाको परिवार काभ्रे छोडेर ललितपुर आयो । त्यो बेलादेखि नै सुरु भयो, हुमागाईँको जीवनमा सर्घषका पानाहरु । यि पानाहरु अहिलेसम्म भरिएका छैनन । समय आफ्नै गतिमा दौडिरहेको छ । अझै कति पानाहरु भरिन बाँकी छन्, सायद
हुमागाईँसंग सुखदुःख, हण्डर, ठक्करका नालिबेली प्रशस्त छन् । अनेकौं भोगाईहरुले खारिएका व्यक्तित्व हुनुहुन्छ, हुमागाईँ । जीवन भोगाईका क्रममा घटेका अनेकौं राजनीतिक घटनाक्रम, प्राकृतिक बिपत्ती, महामारी यि सबै भोगाईको साझा प्रतिबिम्व हुुनुहुन्छ हुंमागाई । यि सबै कुराहरु भोग्दा पनि कति पनि बिचलित नहुनुभएका हुमाँगाईको जीवनको भोगाईहरु हाम्रा लागि खुल्ला पाठशालाहरु हुनसक्छन् ।
उहाँका भोगाईहरु सन्तान दरसन्तानहरुको लागि प्रेरणाका श्रोतहरु हुन सक्छन् । त्यही प्रेरणाको गुत्थी फुकाउनको लागि हामीे अर्थात काठ खबर परिवारले ८३ बर्षिय बद्री प्रसाद हुमागाईँले भोग्नुुभएको १९९० सालको भूकम्पदेखि अहिलेसम्मको भोगाईलाई उहाँकै शब्दमा उतार्ने प्रयास गरेका हौं ।
उहाँले आफ्ना भोगाईका गुत्थीहरु यसरी फुकाउनुभयो :
यहि टौखेलको ठूलो चौरमा गाई चराउन जान्थ्यौं । २००३/४/५/६ सालमा डण्डि बियो असाध्यैं खेल्थ्यौं । बेस्सरी दौडिन पर्ने । बजी भन्दै जानुपर्ने अनि बजी भन्दै आइपुग्नुपर्ने । नेवारी खेल थियो त्यो सायद । कराएको करायै आइपुगिएन भने बियो फेरि अर्कोले हान्दिन्थ्यो पर पर पुग्नेगरी । अर्को खेल थियो ‘गट्टा’ अनि ‘गाऊँचाली’ । रमाइलो गज्जबहुन्थ्यो, ४०।४० गेडा राखेर कोठा बनाएर खेल्थ्यौं ।
अहिले त बिर्सिसकियो सब । तलको कोड्कु खोला (कर्मनाशा) खोलामा माछा मार्न जान्थ्यौं । दिनको एक दुई किलो जहिल्यै ल्याउथ्यौं । ओहो ! माछा त कतिहो कति । जान्थ्यौं हामी ४/५ जना । अहिले त न माछा न पानीखोलामा । त्यतिखेर बाह्रै मास सङ्गलो पानी बग्थ्यो । हरायो अहिले । पानी छैन त्यसमा । आमाले चुर्लुम्म गाग्री डुबाएर पानी ल्याउनुहुन्थ्यो । त्यहि पानी खान्थ्यौं हामी । भात पकाउने पानी पनि त्यहि थियो । वस्तुभाउले पनि त्यहि खान्थे । अहिले त खै के खोला भन्नु, सानो छ, घट्दै घट्दै गए । पानी पनि अलि अलि छ कालो निलो ।
चाडपर्वमा दशैँ भनेपछि असाध्यै रमाइलो लाग्ने । भदौमा मकै भटमास पाकिसकेको हुन्थ्यो । खेतीकै भर त हो । जागिरसागिर त्यस्तै हो त्यो बेला । ९,१०,१२,१५ रुपैया हुन्थ्यो तलब २०१२/१५ सालतिर । मेरो बा को तलब सात रुपैयाँ पल्टनमा पछि रु.९ हुँदै रु. १५ सम्म पुगेको थियो तर यो वि.सं. १९९० साल अघिको कुरो । गाउँभरीमा ४/५ जनामात्र हुन्थ्यो पल्टनमा । अरु जागिर, पाले पिउन, चपरासी भन्ने केहि थिएन । अहिले त कति किसिमको पोष्ट निकालेका छन् । त्यो बेला त अड्डामा गयो भने पनि कस्ता कस्ता ? नेवारहरुको बरण्डामा, आँगनमा हुन्थ्यो अड्डा । केहि न केहि कामको अड्डा, तातो न भुत्लोको अड्डा । पञ्चायत पनि पाटीमा बस्नुपर्थो ।
बि.सं २००४ सालमा गाउँमा स्कुल खुल्यो । एउटा रानीपोखरीको डिलमा दरबार स्कुल थियो अनि कतै थिएन । बाटो त्यतिखेरै अझ म नजन्मिदै थियो । राम्रै थियो । गोदावरी चिसो ठाउँमा भएकोले राणाहरुको रोजाईमा परेको । दरबार पनि थियो । बग्गी चल्थ्यो, काठमाडौं देखि नै । चारपाङ्ग्रे लहरी चल्थे ट्रक जस्तै । चून पोल्ने ठाउँ भएकोले तिलहरीहरु चून ओसार्न प्रयोग हुन्थे, तर पञ्चर भैरहने । डोकोमा माटो ढुङ्गा बोकेर बनाएको बाटो, ईट्टाका सुइरा निस्केका हुन्थे । ढुङ्गा, मूढा हालेर इट्टा पोल्ने जस्तै भट्टीमा पोलेर सेतो चून निकाल्थे ।
त्यहिमाथि वनमा आमाहरुसँगै दाउरा पत्कर लिन जान्थ्यौं, त्यो पत्कर गाईभैसीलाई सोतर हाल्थ्यौं अनि मल बनाएर बारीमा पनि । अरु बजारु चिजखासै थिएन । बारी खेतमा जे फल्छ, त्यहि खाने चलन थियो । अलि मिठो चिज भनेको जुल्फी किन्न पाईन्थ्यो । धुनीवेशी (धादिङ्ग) को अम्बा प्रख्यात थियो । पाटनभरी नबिकेर यहाँसम्म ल्याउँथे । साह्रै मिठो अनि ठुल्ठुलो । अहिले त मैले त्यस्तो अम्बा नदेखेको पनि २५ वर्षभन्दा बढि भैसक्यो होला । उता नि छैन रे अहिले त । पछि बाइरोडको बाटो बनेपछि उतैबाटै गयो होला । अनि यतै काफल प्रशस्त खाइन्थ्यो । आँप पनि खाइन्थ्यो । राणाहरुको दरबारमा हुन्थ्यो । उनिहरुको त देश, विदेशमा, जनकपुर, दरभंगासम्म जग्गा जमिन, उतैबाट आउँथ्यो । किन्नै परे पनि असन, इन्द्रचोकमा पाइन्थ्यो । असन, इन्द्रचोकमा बेबी फूड, हर्लिक्स, ल्याक्टोजिन सब पाइन्थ्यो । आठ कक्षा सम्म पढेर नक्सालमा रामशमशेरको दरबारमा गोठाला बस्दा यो सब चिज देखेको मैले ।
त्यहि २००४ सालमा खेलेको गोदावरी किटिनी आधार स्कुलमा पढेको म । बडिखेल, लेलिनथोक, ग्वालिन्दह वरिपरिका सब केटाहरु आउँथे । टौखेलबाट म मात्र हो पढ्न जाने । छोराछोरीलाई गाली गर्थे, पठाउँदैन थिए प्रायःले । वन जाओ बरु, गाई चराए हुन्छ भन्थे । शुरुमा त ३०/४० जना थिए भर्ना भएका । वर्षातको समयमा खोलेको स्कुल, पछि घट्दै घट्दै गएर १/२ महिनापछि त ३/४ जना मात्र भए, तर मेरो बा अलि एकोहोरो । घोत्र्याएर पठाउनु हुन्थ्यो । अनि एक पैसा दिएर फकाउँदै पठाउनुहुन्थ्यो । रोएर झगडैगरेपछि २ पैसा दिनुहुन्थ्यो । अनि जान्थे म । पुष्टकारी र नरिवल खुब मन पथ्र्यो, त्यहि खान्थे ।
त्यतिखेर पनि धेरै केटाहरु चुरोट खान्थे । इण्डियाबाट मोटर मार्क, फूलमार्क, बसमार्क भन्ने चुरोट आउँथ्यो । त्यतिबेलाको हिसाबले नि महङ्गै थियो चुरोट । अब दिनभरी खेतबारीमा काम गरेको ज्याला ३२ पैसा महिलालाई । एक मोहोर पुरुषलाई । चुरोटको २० पैसा पर्थो एक बट्टाको, १० वटा हुन्थ्यो । जन्त गएको बेलामा पनि प्रशस्त चुरोट खान्थे मान्छेहरु । ५/६ बट्टा चुरोट किन्थे जन्त जानलाई । आँगनमा, पर्खालमा सुकुलमाथि बस्यो, राती बत्ति हुन्न थियो, जग्गेमा लालटिन बालेको हुन्थ्यो । अनिकोही कोहीसँग टर्चलाइट हुन्थ्यो । सबको हातमा परबाट हेर्दा रातो रातो देखिन्थ्यो चुरोट सल्काएकोले । दशवर्ष देखि माथिका एक सयवर्ष सम्मकाले प्रायः चुरोट खान्थे । मैले २०४२ सालबाट चटक्कै छोडेको चुरोट पिउन ।
त्यतिबेलाका मान्छेहरु भात खानका लागि पनि जन्त जान्थे । हिडेरैं त हो । यहाँबाट बनेपा, बाह्रबिसे, लेले, कोड्कु जताततै । निम्तो नगरेपनि जान्थे । अनि भोलि या पर्सिपल्ट दुलाहापट्टि जन्ते बाख्रो भोज हुन्थ्यो । त्यस्तो बेला थियो । भात खान पाउने भनेको कि विवाहको जन्तमा, कि श्राद्धमा, कि मामाघर गएको बेलामा । गतिलो मावली भयो भने । छोरी माईत आई, नाति, नातिना आए भनेर । मेरो पनि त्यस्तै हो । मावली अनन्तलिङ्गेश्वर दधिकोट । जान्थे आमासँग कहिलेकाँही । उनीहरुले ढिंडो खाएपनि छोरी, नाति, नातिनालाई भात नै खुवाउँथे ।
त्यतिखेर जात्रापर्व खुब रमाइला हुन्थे । जात्रामा गइन्थ्यो । गाइजात्रा भदौमा पथ्र्यो । दुई दिनहुन्थ्यो । ठैंब, बाँडेगाउँतिर सिद्रे जात्रा हुन्थ्यो । सिद्रे बाख्रो नचाउने जात्रा भन्थे, ज्यापूहरुले मनाउँथे । बाख्राको आन्द्राभुँडी सबै झिकेर फेरी त्यो छाला सिलाएर उस्तै आकृति बनाएर पित्तलको ठूलो भाँडोमा टन्न माटो भरेर अनि त्यसमाथि त्यो बाख्रालाई टक्क अड्डाएर अगाडी हरियो घाँसको झुप्पा हालेर २ जनाले बोकी राख्थे । रमाइलो जात्रा थियो त्यो । हरिसिद्धिमा देवीनाच पनि हेर्न जान्थ्यौं ।
मंसिर महिनामा काम अलि कम हुन्थ्यो । धान भित्रिसकेको हुन्थ्यो । भकारीमा मकै पनि हुन्थ्यो । अलि टन्न खान पाउने भनेको त्यहि बेलामा हो । दिउँसो पनि मकै भटमास यसो पोल्टामा हाल्न पाउने बेला । अनि त्यतिखेरैतिर सत्यनारायणको पूजा लगाउने चलन थियो । प्रायः सबैले लगाउँथे । बिहान वन गयो, दाउरा, सोतर लिएर आयो अनि ४ बजेपछि गयो त्यहि पूजा लगाएको तिर २२/२३ घर त थिए त्यो टौखेल भरीमा त्यति बेला । (२००८/०१० सालमा) झ्याउरे, भजन, गाउँथे । बच्चा केटाकेटीहरु नाच्थे । सबै झुम्मिएका हुन्थे । रातभरी महादिप बालेर जाग्राम पनि बस्थे । मादल बजाएपछि सारै रमाइलो हुन्थ्यो ।
काठमाडौं भनेकै टुडिखेल जस्तो थियो त्यसबेला । वल्लो सुरदेखि पल्लोसुरसम्म पिँच बाटो त सिंहदरबारदेखि भद्रकालीसम्म मात्रै थियो, सानो बाटो । खै अहिले नि छ क्यारे त्यो पुरानो बाटो, बग्गी हिड्ने बाटो । मोटर पनि थिए अलिअलि । टुँडिखेलवरिपरि कुनैबाटो नै थिएन । चित्लाङ, मार्खु, कुलेखानी हुँदै मोटरका पार्टपूर्जा, टायर बोकेर ल्याउँथे । भिमफेदीमा मिस्त्रीले खोल्दिएपछि अनि यता ल्याएर फेरी जोड्थे । ३ वटा अङ्कका नम्बर हुन्थ्यो । मिस्त्रीहरु पनि थिए, जम्मा-जम्मी १०/१२ वटा ट्रकहरु थिए होलान् । एउटा यता आउँथ्यो त्यहि चुन बोक्न बोजा पोखरी, जुनअहिले पनि छ, त्यहिसम्म पाटनका ठूला साहु थिए अनिरुद्र भन्ने । उनको छोराले चलाउँथे त्यो कारखाना । त्यहि चुनलिन ११० नम्बरको ट्रक/लहरी आउँथ्यो । हामी स्कुलबाट भागेर गएर त्यहि ट्रकमा झुण्डिएर खेल्दै रमाइलो गथ्र्यौं । त्यहि पोखरीमा पौडी पनि खेल्थेयौं ।
(नोट : हुमागाईँका यि भोगाईका बाँकी अंश आगामी शनिवार यही स्तम्भमा प्रकाशन गर्ने छौं । )