Kath Khabar
शीतलहरले तराई मधेसमा जनजीवन प्रभावित

                 जलेश्वर, पुस २६ । विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ । लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो ।

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर– ७ का वीरेन्द्र शर्माले बताउनुभयो । चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ । बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन् ।

जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ । चिसोले हाट बजारमा चहलपहल घटेको छ । चिया व्यापार भने बढेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताउनुभयो ।

चिसोकै कारण जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको चिकित्सकहरु बताउँछन् । जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन् । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको छ । जाडोबाट बच्न ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेका छन् ।

जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई समेत समस्या भएको जलेश्वर–१० का सहदेव मण्डलले बताउनुभयो ।  
–––

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update