ललितपुर, पुस २६ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ खड्काटोलमा अवस्थित पञ्चदेव मन्दिरमा बिहीबार आरती तथा आजीवन सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । श्री पाञ्चायन भजन आरती संरक्षण समितिको आयोजनामा आरती तथा आजीवन सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
२०६२ साल चैत्र २४ गते बिहीबार विधिवत् रुपमा स्थापना भएको उक्त पञ्चदेव मन्दिरमा गत श्रावण १ गते देखि निरन्तररूपमा प्रत्येक महिनाको अन्तिम बिहीबार व्यासाचार्य पं. मधुसुधन रिसाल र वरिष्ठ भजन गायक कुवेर के.सी. ज्यू द्धारा महाआरती एवं भजन कार्यक्रम हुँदै आएको छ ।
महालक्ष्मी नगरपालिकाका प्रथम मेयर तथा हाल बागमती प्रदेश ललितपुर २ ‘क’ सांसद तथा पूर्व स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वर्तमान उपमेयर लक्ष्मी महर्जन, वडा नं. ५ का वडाअध्यक्ष कपिल के.सी, निवर्तमान वडाअध्यक्ष राजकुमार सिलवाल र वरिष्ठ अधिवक्ता प्रेम अधिकारी सहितको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य समिति सदस्य सुभद्रा खड्काले र सभाध्यक्ष समिति अध्यक्ष हरि बहादुर खड्काले गर्नुभएको थियो ।