काठमाडौं, साउन १७ । विश्वव्यापीरुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ-एनआरएनए) का अनुसार मलेशियामा ३७ जना इराक, र युगान्डामा एक, एक जना नेपालीको कोरोना भबाइरसका कारणले ज्यान गएको हो ।
संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित विश्वभर २९ मुलुकमा रहेका चार सय ८६ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा एक लाख २७ हजार नौ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एक लाख १७ हजार पाँच सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । सापकोटाका अनुसार विगत दुई सातामा मलेसिया र भारतमा रहेका नेपालीमा भने थप कोरोना संक्रमण देखिएको छ ।