Kath Khabar
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी


                     काठमाडौं, पुस २८ । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली युवतीहरुको नाकको अलिकति चर्चा गरिएको छ । उनीहरुको नाकलाई ‘तेलको धारा’जस्ता भनिएको छ ।व्यक्तिले व्यक्तिमाथि दृष्टि दिंदा उसका आँखाहरुको मूल आकर्षणको केन्द्र अनुहार नै हुन्छ ।

समकालीन दुनियाँमा मानिसको आँखा, नाक वा शारिरीक बनोट हेरेर सौन्दर्यको चर्चा गर्ने वा औसत धारणा बनाउने प्रवृत्ति उत्पात मौलाएको छ । त्यसैले अधिकतम् व्यक्तिहरुले सकेसम्म आफ्नो आवरणलाई सुन्दर बनाउन चाहन्छन्, जसका कारण आफ्नो अनुहार हेरेर अरुले आफूमाथि राम्रो धारणा बनाऊन् । तर ब्यक्तिको सौन्दर्यलाई केवल अनुहारको रुपरङमा मात्र सीमित गरिए त्यो ठूलो भ्रम हुनेछ । अनुहारबाट मात्रै मानिसको वास्तविक पहिचान भेट्न सकिन्न । मानिसको वास्तविक सुन्दरता त उसले बोकेको विचारमा मात्र पाइन्छ । महान विद्वान अष्टबक्राले भनेकै छन्, “आत्मदृष्टिले हेरियो भने असुन्दर भन्ने केही पनि पाइन्न । तर चर्मदृष्टिले हेर्न थालियो भने असल भन्ने देख्न मुस्किल पर्नेछ । चर्मदृष्टिले त अज्ञानीले मात्रै हेर्छ ।”

अष्टबक्राको यो भनाइलाई हामीले गहिराइमा पुगेर ध्यानदृष्टि दियौँ भने मनन् गर्न पर्ने उच्च तहको दर्शन पाउन सक्छौँ । तर अहिलेको यो अस्वस्थ होडबाजीको युगमा यस्तो दर्शन र ज्ञान सम्झाउने र सम्झनेहरुको खडेरी पर्न थालेको छ । यो सभ्य समाजको सूचक होइन ।

मानिसको अनुहार मात्रै हेरेर दृष्टिकोण बनाउनु पनि चर्मदृष्टिको उपज हो । हामी भन्न सक्छौँ, मानिसको बाहिरी रुप रङ वा आवरण हेरे मात्रै निर्णयमा पुग्न थालियो भने त्यो हतारो हुनेछ । हामीले मानिसको विचारबाट मात्रै उसको सौन्दर्यको सही मूल्याङ्कन गर्न सक्छौँ ।

सुकरातको अनुहार अवलोकन
असल विचार र दर्शनको प्रवाह गर्दा समाज भाँडेको आरोप लागेको थियो महान दार्शनिक सुकरातलाई । त्यहीँ आरोपमा त्यसबेलाको आडम्बरी शासकले उनलाई मृत्युदण्ड दिएको थियो । शारीरिक दृष्टिले सुकरातमा आकर्षक व्यक्तित्त्व थिएन । उनी होचो कदका थिए र हिँड्दा पनि बाङ्गो पाराले हिँड्थे । उनीको अनुहार कुरुप थियो । तर पनि उनको पछाडि लाग्ने शिष्यहरुको लर्को सानो थिएन । यसको कारण थियो, उनीबाट प्रवाहित हुने सुन्दर विचारहरुको प्रवाह ।

एक दिन उनी आफ्ना शिष्यहरुलाई प्रवचन दिइरहेको बेला एक ज्योतिष उनीसम्मुख उपस्थित भए । ती ज्योतिष कसैको अनुहार हेरेकै भरमा मानिसको भविष्यवाणी गरिदिने घमण्ड गर्थे । ती ज्योतिषले सुकरातको अनुहार हेर्दै भने, “यो मानिसमा क्रोध नै क्रोध छ । नाक हेर्दा यस्तै लाग्छ । निधार र टाउकोको बनोट हेर्दा यो मानिस लोभी हुनुपर्छ । चिउँडो हेर्दा अत्यन्तै सनकी छ । ओठ र दाँतको आकारले भन्छ, यो मानिस देशद्रोहका लागि लालायित छ ।” यो सुनेर ती ज्योतिषलाई सुकरातले राम्रो पुरस्कार दिएर पठाउँदा उनका शिष्यहरु ठूलो आश्चार्यमा परे । आफ्ना शिष्यहरुको आश्चार्य बुझेर सुकरातले उनीहरुलाई भने, “ज्योतिषले भनेको सबै दुर्गुण मसँग छ । यो म स्वीकार गर्छु । तर ज्योतिषले मेरो विवेकलाई ध्यान दिएनन् । म आफ्नो विवेक शक्तिले सबै दुर्गुणमा अङ्कुश लगाउन सक्छु ।”

मानिसले अनुहार हेरेर सबै कुरा थाहा पाउन सक्ने भए ती ज्योतिषले भने जस्तै सुकरात पनि अत्यन्तै खराब हुनुपर्ने हो । तर उनी त संसारको महान दार्शनिक भएर अमर बने । उनैले जन्माएका शिष्य प्लेटो अर्का महान विचारक भए भने प्लेटोको शिष्य एरिस्टोटलको विषयमा जति चर्चा गरे पनि कम हुन्छ । सुकरातको जन्म एक व्यक्तिमा मात्रै सीमित भएन, उनी त समाजको मार्गदर्शक बने ।

सुकरातको समयमा उनको इश्र्या गर्ने र आफूलाई विद्वान स्वघोषणा गर्नेहरु प्रशस्तै थिए । उनीहरु आफूलाई ‘सोफिस्ट’ भन्थे । तर सुकरात चाहिँ आफूलाई फिलोसोफर भन्थे । ल्याटिन भाषामा ‘फिलो’ भनेको ज्ञान र ‘सोफर’ भनेको प्रेमी हो । विनयशील सुकरातले आफूलाई विद्वान नभनी ज्ञानको प्रेमी भन्ने गर्थे । यसबाट पनि असल चिन्तकहरुमा विनयशीलताजस्तो महानता कतिसम्म हुँदो रहेछ भन्ने थाहा पाउन सकिन्छ । हाम्रा कवि शिरोमणि लेखनाथ पौड्यालले भनेजस्तै फलेको वृक्षको हाँगो ननुहेको कहाँ छ र ?

रुप र चिन्तनको संयोजन
मिलेको अनुहार, चम्किला आँखा, आवश्यकताअनुहारको उचाई र दन्तुरुस्त शरिरको चाहना सबैलाई हुन्छ । तर सबैले त्यो अवसर पाउन सक्दैनन् । प्रचलित सौन्दर्य दृष्टिमा अनाकर्षक शारिरीक बनोट लिएर जन्मने मानिसलाई त्यो मानिसले अपहेलना गर्छ, जोसँग अष्टबक्राले भनेजस्तै आत्मदृष्टि होइन, चर्मदृष्टि मात्र हुन्छ ।

हामी रुप र चिन्तनको उदाहरण दिंदा सिद्धार्थ गौतमको उदाहरण दिन सक्छौँ । उनले ज्ञान प्राप्तिको खातिर दरबारिया भौतिक सुख परित्याग गरे । त्यसबेला पुरुषहरुले पनि केश विन्यासलाई ठूलो महत्त्व दिन्थे । उनले दरबार छाडेपछि आफूले बोकेको छुरीले आफ्नो कपाल आफँै काटे । उनी कतिसम्म सुन्दर थिए भने उनलाई बत्तीस लक्षणले युक्त पुरुष मानिन्थ्यो । उनले भौतिक सुखसयल र आफ्नो सुन्दर अनुहारप्रति कुनै मोह राखेनन् । धैर्यतापूर्वक गरिएको ध्यान साधनाबाट उनले बुद्धत्त्व प्राप्त गरे । अनि उनी गौतम बुद्धको रुपमा प्रसिद्ध बने ।

बुद्धत्त्व प्राप्त गरिसकेपछि उनले आफ्नो शिष्यहरुलाई भौतिक सुख र सौन्दर्यतिर रत्तिभर ध्यान नदिई साधनामा लाग्न प्रेरित गरिरहे । दाह«ी, जुँगा र कपाल खौरन र वस्त्रका रुपमा चिवर धारण गर्न शिष्यहरुलाई प्रेरित गरे । चिवर भनेको मसान घाटहरुमा फ्याकिएको मृतकको वस्त्रहरु हुन् । तिनीहरुलाई धोई सफा गरी, सिलाइ धारण गर्न उनले शिष्यहरुलाई प्रेरित गरिरहे । उनका शिष्यहरुले त्यसलाई अनुशरण गरे ।

गौतम बुद्धकी एक दिदी (सानी आमा प्रजापति गौतमीतिरकी छोरी) थिइन्, नन्दा । उनी अत्यन्तै सुन्दरी थिइन् । उनमा आफ्नो सुन्दरताको ठूलो घमण्ड थियो । बुद्ध उनलाई शारिरीक सौन्दर्यको घमण्डबाट मुक्त गराएर भिक्षुणी बनाउन चाहन्थे । निक्कै लामो प्रयासपछि बुद्धले सौन्दर्यको घमण्डबाट मुक्त गराएर नन्दालाई भिक्षुणी बनाउन सफलता प्राप्त गरेका थिए ।

गौतम बुद्धको विचारमा शारिरीक सौन्दर्य गौण हो, त्योभन्दा उत्तम त सुन्दर विचार हो । सुन्दर विचारले सुन्दर समाज निर्माण गर्छ । सुन्दर समाजका लागि उपकारी मनहरुको जमघट आवश्यक हुन्छ । उपकारी मनका लागि सुन्दर विचार चाहिन्छ । गौतम बुद्ध भन्थे, “तिमीले प्रत्येकपल्ट सास फेर्दा तिम्रो आयु घटिरहेको हुनेछ । त्यसैले आफ्नो प्रत्येक क्षण तिमी प्राणी जगत्को उपकारमा लगाउ ।”

नश्वर शरिर अमर विचार
संसार अनित्य छ, कुनै भौतिक वस्तु स्थायी छैन । नश्वर शरिर त एक दिन बिलाएर जान्छ । जतिसुकै सुन्दर भए पनि समय क्रमसँगै अनुहार खुम्चदै चाउरी पर्दैै जान्छ । सिधा र आकर्षक शरिर पनि कुप्रिदै जान्छ । हट्टाकट्टा सरीर समय पुगेपछि कमजोर हुँदै जान्छ । रौंहरु झर्न थाल्छन् । अन्ततः हाम्रो भौतिक देह एक दिन माटोमा मिल्न पुग्छ ।तर हामीले सुन्दर विचार राख्यौँ भने त्यो एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ । सुन्दर विचारले सुन्दर समाज निर्माणका लागि मार्गदर्शन गर्छ । त्यसैले सुन्दर निर्माणमा जुट्न सुन्दर विचार बोक्न जरुरी छ ।

अनुहारको सौन्दर्य र विचारको उत्कृष्टताको प्रसङ्ग कोट्याउँदा महान नाटककार तथा मानवतावादी व्यक्तित्त्व जर्ज बर्नाड शको धारणालाई पनि उदाहरणको रुपमा लिन सकिन्छ । उनको प्रतिभाबाट प्रभावित नहुने कोही थिएनन् । यस्तै प्रभावमा पर्ने हलिउडकी एक जना सुन्दरीले उनलाई विवाहको प्रस्ताव राख्दै भनिछन्,“तिमी र म विवाह गरौँ र हामी यस्तो सन्तानलाई जन्म दिऔँ कि रुप मेरोजस्तो होस अनि बुद्धि तिम्रोजस्तो ।” यो सुनेर जर्ज बर्नाड शले ती सुन्दरीलाई उल्टै प्रश्न गरेछन्,“हे सुन्दरी, तिम्रो कुरा त ठीकै हो, तर हामीबाट जन्मिने सन्तानमा रुप मेरोजस्तो र बुद्धि चाहिँ तिम्रोजस्तो भयो भने के गर्ने नि ?” त्यसैले हामी पनि अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ । (रासस)

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update