पाटन (ललितपुर), पुस २९ । ललितपुर महानगरले पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति गरिदिएको छ । विगतमा चारवटा शव राख्न मिल्ने शवगृहको स्तरोन्नतिपश्चात् अब २४ वटा शव राख्न मिल्ने गरी व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
नवनिर्मित शवगृह उद्घाटनका लागि आइतबार यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले अस्पताललाई शव व्यवस्थापनका लागि सहजहोस् भन्ने उद्देश्यले महानगरले आवश्यक सहयोग गरेको बताउनुभयो । “हरेक किसिमबाट मृत्युु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा पाटन अस्पतालमा समस्या भएको जानकारी पाएपछि हामीले रकम व्यवस्थापन गरेर शव व्यवस्थापन गृह निर्माण गरिदियौँ, यो हाम्रो दायित्व पनि हो”, उहाँले भन्नुभयो ।
कोरोना महाकारीको समयमा पाटन अस्पतालमा अक्सिजन नभएर हम्मेहम्मे पर्दा पनि सहयोग गरेर बिरामीको शय्यामा अक्सिजन पु¥याउन व्यवस्थापन गरिएको महानगरप्रमुख महर्जनले स्मरण गर्नुभयो । उहाँले जाउलाखेलस्थित सदर चिडियाखाना र पाटन अस्पताल महानगरको गौरव भएको बताउँदै यी दुवै संस्थामा कुनै पनि समस्या आउनासाथ सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो ।
अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले कोरोना महामारीदेखि हालसम्म महानगरले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । “पाटन अस्पतालले ललितपुर महानगरबाट ठूलो र महत्वपूर्ण सहयोग प्राप्त गरेको छ, यो सहयोगका लागि आभार व्यक्त गर्न चाहन्छु । पाटन अस्पताल मात्रै नभई मेडिकल विश्वविद्यालय पनि हो, यसको गौरब बचाउनु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो ।
अस्पतालका निर्देशक प्राध्यापक डा रवि शाक्यले व्यवस्थित शवगृहको अभावमा लासमाथि लास खप्ट्यार राख्नुपर्ने अवस्था रहेकामा महानगरको सहयोगपछि अब त्यो अवस्था नआउने बताउनुभयो । अस्पतालका ‘फरेन्सिक’ विज्ञ डा सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शवगृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताउनुभयो । “लासलाई किन राम्रो ठाउँ चाहियो भन्ने गरिन्छ तर त्यसो हैन, मृत्युपछि सम्मान आवश्यक हुन्छ । त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ । अझ विपद्का बेला धेरै लास राख्ने ठाउँको आवश्यकता हुन्छ । यहाँको शवगृहको स्तरोन्नतिले धेरै सहज हुनेछ” उहाँले भन्नुभयो ।
महानगरले पाटन अस्पतालसँगको सहकार्यमा बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र सञ्चालन गरिरहेको छ । पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त पाँच ठाउँमा पनि सेवा केन्द्र खोल्ने तयारी गरिरहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले जानकारी दिनुभयो ।
---